२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई निर्वाचन अवलोकन गर्न दिइने

shivam cement
२०८२ फागुन १४ गते १५:३०
Shares
कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई निर्वाचन अवलोकन गर्न दिइने

काठमाडौंः निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र प्रक्रियाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको छ । बिहीवार निर्वाचन आयोगले नेपालमा रहेका सबै कुटनीतिक नियोगका प्रमुख र प्रतिनिधिहरूलाई निर्वाचनबारे जानकारी गराएको हो । 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईकाअनुसार निर्वाचन केवल आन्तरिक सरोकारको विषय मात्र नभई अन्तर्राष्ट्रिय समुदायको पनि चासोको विषय हुने भएकाले नेपालको निर्वाचनमा विश्व समुदायको सकारात्मक सहयोग र सहभागिताका लागि ‘ब्रिफिङ’ गरिएको हो । नेपालमा रहेका सबै विदेशी दुतावास, संयुक्त राष्ट्रसंघीय निकाय र विकास साझेदारहरूलाई निर्वाचनका गतिविधिबारे जानकारी (ब्रिफिङ) गराउने परम्परा विगतदेखि नै रहेको आयोगले जनाएको छ । 

प्रवक्ता भट्टराईले कुटनीतिक समुदायलाई निर्वाचनका बारेमा सत्य–तथ्य जानकारी लिन–दिन र पर्यवेक्षणका लागि आवश्यक तयारी गर्न यसले सहज हुने बताए । उनले सवारी साधनको प्रयोग, आवागमन (मुभमेण्ट) र परिचयपत्रको व्यवस्थाबारे पनि कुटनीतिक समुदायलाई स्पष्ट पारिएको बताउँदै यसले नेपालको निर्वाचनका बारेमा अन्तर्राष्ट्रिय रूपमा एउटै बुझाइ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

आयोगले मतदानको दिन कुटनीतिक नियोगलाई अवलोकनको लागि अवसर दिने भएको छ । निर्वाचन आयोगले निर्धारण गरेको प्रोटोकल (मर्यादा) पालना गरेर कुटनीतिक नियोगका प्रमुख वा प्रतिनिधिले चाहेको स्थानमा गएर अवलोकन गर्नसक्ने प्रवक्ता भट्टराईले जानकारी दिए ।

सम्बन्धित खबर