रेशम अधिकारी/मध्यान्ह
नवलपरासी, ११ जेठ । नवलपरासीको सुनवल नगरपालिका –७ तरगौलीमा रहेको ‘देवदह ताल’ को संरक्षण र विकासका लागि गुरु योजना तयार गरिने भएको छ । नवनिर्वाचित वडा अध्यक्ष नारायण आचार्यको पहलमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धीचरण भट्टराई लगायतको टोलीले बुधबार ताल क्षेत्रको अवलोकन गर्दै गुरूयोजना बनाएर काम गर्नुपर्नेमा जोड दिएका हुन् ।
अवलोकनपछि वडा अध्यक्ष आचार्य लगायत ताल संरक्षण समितिका पदाधिकारी र स्थानीय आमा समूहका प्रतिनिधिसँग कुरा गर्दै कोषाध्यक्ष भट्टराईले गुरूयोजना तयार गरेर अगाडि बढे आर्थिक व्यवस्थापन सहज हुने बताए । छलफलमा सहभागी हुँदै भट्टराईले जग्गा संरक्षण गर्ने, ऐतिहासिक डकुमेन्टसहरूको खोजी गर्ने र ताल क्षेत्रको समग्र विकासको गुरूयोजना बनाउँने काम गर्न सुझाव दिए ।
सोही छलफलमा बोल्दै नवनिर्वाचित वडाध्यक्ष नारायण आचार्यले सबैखाले काममा वडा कार्यालयले समन्वय गर्ने र विस्तृत योजना बनाएर तालको ऐतिहासिकता पुष्टि गर्दै संरक्षण र विकासको लागि आफुले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘हामीले गर्नुपर्ने सबै काम हामी गर्छौं, यसमा लुम्बिनी विकास कोषले आवश्यक सहयोग गरिदिनुपर्यो’, विकास कोषका कोषाध्यक्ष भट्टराईसँग आचार्यले अनुरोध गरे । उचित संरक्षण तथा सम्वद्र्धनको अभावमा उक्त ऐतिहासिक प्राकृतिक ताल ओझेलमा पर्दै आएको छ । तालमा पर्याप्त पानी भएपनि जलकुम्बी र अन्य झार धेरै हुँदा तालको सुन्दरता छोपिएको छ ।
यो तालको गहिराइ कति छ भन्ने अहिलेसम्म कसैलाई थाहा छैन । पर्यटकीय सम्भावना बोकेको तालको संरक्षण हुन नसक्दा पर्यटक भित्र्याउन सकिएको छैन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल नगरपालिकाको ज्यामिरेबाट चार किलोमिटर दक्षिण तर्गौलीमा रहेको यो ताल क्षेत्रमा ऐतिहासिक साम्यमाई मन्दिर, बौद्ध गुम्बा सहितको हरियाली र रमणीय वातावरण रहेको छ ।
कोलीय गणराज्यभित्र पर्ने देवदह ताल तरगौलीमा गौतमबुद्धकी आमा मायादेवीले स्नान गरेको तथा सो क्षेत्रमा मायादेवीकी माइली बैनी साम्यमाईको परिवार बसोवास गर्ने सुन्दर राजमहल रहेको’ बुद्धस्य जीवनमा वृत्तान्त’ नामक ग्रन्थमा उल्लेख भएको पाइन्छ ।
वास्तविक देवदह ताल यही तरगौली भएपनि ओझेलमा पर्दै गएको ऐतिहासिक देवदह ताल संरक्षण समितिका कोषाध्यक्ष राम बहादुर महत बताउँछन् । महतका अनुसार विकासको लागि स्थानीय सरकारको बजेटले मात्र प्रयाप्त नभएकोले प्रदेश र केन्द्र सरकारबाट पनि बजेट निकास हुन सके यहाँको मुहार फेरिन सक्छ ।
कहिलेकाहीँ दहको बीचमा सुनको नथुनी लगाएको माछा देखिने तर पछि उक्त माछा लोप भएको तथा ती माछा खान पनि नहुने विश्वास रहेको स्थानीय पुजारी कुल प्रसाद कठरिया बताउँछन् । तरगौलीमा रहेको देवदह तालको संरक्षण र विकास गरी कुशल व्यवस्थापन गर्न सकेमा यस ठाउँको महत्व एवं सामाजिक, आर्थिकस्तरलाई माथि उठाउन सकिने सम्भावना रहेको स्थानीयवासी राजु केसी बताउँछन् । दहलाइ पर्यटकीय हिसाबले विकास गर्न सक्ने हो भने वडा बासिहरूको जीवन स्तर उकास्न दहले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
लुम्बिनी विकास कोषबाट प्राप्त हुने बजेट केही वर्षदेखि नपाएपछि हाल ताल संरक्षणका लागि मन्दिरमा चढाउने भेटी प्रयोग गरिएको छ । यस क्षेत्रका बुद्धस्थललाई समेटेर एकीकृत विकास गरिनुपर्ने उनको जोड छ ।
२५१० वर्ष पहिलाको बुदस्य जीवन वृत्तान्तम नामक ग्रन्थमा उल्लेख भएअनुसार बुद्धको विवाहपश्चात् श्रीमती भागेर माइत गएपछि खोजिका लागि बुद्ध मावली आउँदा आफ्नो श्रीमतीलाई नभेटेपछि विरक्तीएर सिकार खेल्न कमल पोखरी अर्थात् देवदह ताल तरगौलीमा आइपुगे ।
आफ्नो साथमा भएको धनुवाणले चारो लिन आएको राजहंसलाई मार्न खोज्दा राजहंसले प्राथना गरी मलाई मात्र होइन मेरा छोराछोरीहरुलाई सबैलाई मार भनेपछि बुद्धको ज्ञान खुल्यो र माहात्मा बन्न प्रेरणा पुग्यो ।
उनको साथमा रहेका हतियारहरु सोही ठाउँमा फ्याके र तालको पूर्वपट्टिको पाकडी रुखमुनि सात दिनसम्म तपस्या गरेका हुन् भन्ने किम्बदन्ती पाइन्छ । गौतमबुद्धका आमाहरु तीन बहिनी रहेको र मायादेवीकी माहिली बहिनी साम्यमाई यसै तरगौली गाउँमा बसोवास गरेको हुँदा उनलाई साम्यमाई भनिएको हो । शास्त्रका अनुसार यस ऐतिहासिक साम्यमाई मन्दिरको चारै तिर महलहरु थिए ।
नेपाललाई विश्वले बुद्ध र सगरमाथाको देश भनेर चिन्छ । बुद्धकालिन सम्पदाहरूको संरक्षण, खोज, अनुसन्धान र विकास गर्न सके विश्वका बौद्धमार्गी लगायत सबैखाले पर्यटकहरूको यहाँ भिड लाग्ने र त्यसले देशकै पर्यटन विकासमा टेवा पुग्ने स्थानीयहरु बताउँछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies