– डा. केशव देवकोटा
स्थानीय तहको निर्वाचनको परिणामलाई लिएर विभिन्न किसिमका टिका टिप्पणीहरु भैरहेका छन् । सामान्यतयाः देशैभर एकैदिन भएको स्थानीय निर्वाचनको सबै क्षेत्र र पक्षमा तर्क वितर्क हुनु स्वाभाविक छ । यसमाथि पनि नेपालमा यस पटक अनौठो किसिमले निर्वाचन भएको छ । सत्ता पक्षले गराएको स्थानीय निर्वाचनलाई प्रमुख प्रतिपक्षले चुनौती दिँदै पुनः निर्वाचन गराउन माग गरेका कारण समस्या निक्कै पेचिलो बनेको मान्नुपर्दछ । अझ यस पटक गराइएको स्थानीय निर्वाचन विरुद्ध एमालेले कानूनी उपचारको बाटो अवलम्बन गरेको खण्डमा पनि आश्चर्य मान्न नसकिने भएको छ । यथार्थमा यस पटकको स्थानीय निर्वाचनलाई दलहरुले तीन प्रकारले उपयोग गरेको देखिएको छ । त्यो भनेको निर्वाचनलाई सम्पूर्णरुपमा स्वीकार गर्ने, बहिष्कार गर्ने र त्यसलाई आंशिकरुपमा प्रयोग गर्ने तीनथरि पार्टीहरु देखिएका थिए । तेस्रोथरिमा स्वतन्त्र उम्मेदवारी दिनेहरु पनि पर्दछन् । त्यसैले उक्त तीनवटै पक्षले यो निर्वाचनको आ–आफ्नै ढंगले मूल्यांकन गरेको देखियो । सबैले आ–आफ्नो पक्षले जितेको दाबी गर्ने कुरा टाढाको विषय रहेन । निर्वाचनलाई नै सम्पूर्णरुपमा स्वीकार गरेका कांग्रेस र माओवादी केन्द्रलगायतका संसदवादी दलहरुका बीचमा पनि एकता कायम हुन सकेको थिएन । सरकारको नेतृत्व गरिरहेको कांग्रेसको नेतृत्वमा रहेका माओवादी केन्द्रलगायतका दलहरुले आपसमा चुनावी तालमेलको नारा दिएका थिए भने एमालेले एक्लै निर्वाचन लड्ने उद्घोष गरेको थियो । तथापि एमाले पनि चुनावी तालमेलबाट बिटुलो रहन सकेन । उसले राप्रपा नेपाललगायतका आधा दर्जन जति विभिन्न पार्टी तथा समूहहरुलाई आफ्नो पार्टीको निर्वाचन चिन्ह प्रयोग गर्ने अनुमति दिएको थियो । कतिपय ठाउँमा कांग्रेस र माओवादी केन्द्र मात्र नभएर आफैँबाट फुटेर गएको एकीकृत समाजवादीसँग पनि चुनावी तालमेल गर्न पछि परेन । पाँच दलीय गठबन्धनका माओवादी केन्द्र बाहेकका घटक र एमालेलगायतका अन्य दलहरुले आ–आफ्नो पार्टीको चुनावी घोषणापत्र पनि सार्वजनिक गरेका थिए तर, माओवादी केन्द्रले त्यस्तो घोषणापत्र सार्वजनिक गरेन । देश र जनताका सामू आफ्नो भावी प्रतिबद्धता जनाउने सामान्य दायित्व पनि माओवादीबाट पुरा भएन । ‘नङ्गा नाँचे हजार दाउ’ भनेजस्तै जसरी पनि नाँच्न तयार रहेका दलहरुका लागि आफ्नो, सिद्धान्त, मूल्य÷मान्यता र आदर्शको कुनै ख्याल नहुनु आश्चर्यको विषय रहेन ।
संसदवादी दलहरुको चुनावी नीति भनेकै ‘एनी हाउ पद हत्याउ’ भन्ने भएपछि जनताका सामू कुनै आदर्श देखाइरहनु पनि परेन । पाँच दलीय गठबन्धनका घटकहरुले पहिलो त गठबन्धन बाहिरका अन्य दलहरुसँग चुनावी तालमेल गर्न नपाइने भनेका थिए भने दोस्रो, तालमेल हुन नसकेका स्थानमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने भनेका थिए । तर, उपरोक्त दुवै कुरा उनीहरु आफैले उल्लंघन गरे । त्यस्तो उल्लंघन गर्नुलाई उनीहरुले आ–आफ्नो बहादुरीसमेत ठानेको देखियो । अब आएर गठबन्धनका दलहरुकै बीचमा एकले अर्कोलाई धोखा दिएको आरोपसमेत लगाउन थालेका छन् । वास्तवमा पाँच दलीय गठबन्धनका सबै घटकहरु धोखेबाज र अवसरवादी देखिन्छन् । जसले एकले अर्कोलाई छेउमा भेटेको खण्डमा घचेट्ने र माझमा भेटेको खण्डमा चेप्ट्याउने काम गरे । एउटै गठबन्धनमा रहेका दलहरुका बीचमा सामान्य मित्रवत व्यवहार पनि देखिएन । कतिपय ठाउँमा त एकले अर्कोमाथि सांघातिक आक्रमण गरेको समेत देखियो । आपसमा गरेको आरोप र प्रत्यारोपको त हिसाब गरी साध्य नै भएन । कांग्रेस र माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धन इण्डो–पश्चिमा शक्तिले बनाइदिएको गठबन्धन भएका कारण त्यसमा रहेका घटकहरुले एकले अर्कोलाई मानिरहनु पर्ने कुनै आवश्यकता थिएन र छैन पनि । सो शक्तिले गठबन्धन भंग गर्न चाहेको खण्डमा कुनै घटकले रोक्न÷रोकाउन सक्ने अवस्था छैन । उनीहरुले चाहँदैमा गठबन्धनबाट बाहिर आउन पनि सक्दैनन् । जुन कुरा राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धनबाट हटेको घोषणा गरेलगत्तै फेरी सोही मोर्चामा हाजिर गर्न पुगेबाट स्पष्ट हुन्छ । संसदमा देखिएको एमालेको पछिल्लो भूमिकाले पनि इण्डो–पश्चिमा प्रभावको संकेत गरेको छ ।
संसदमा विगत नौ महिनासम्म अवरोध गर्दै आएको एमालेले एकाएक आफ्नो पूर्ववर्ती नीतिमा परिवर्तन गर्नु बुझ्न सकिने विषय भएको छ । गठबन्धनमा हेरफेर हुन सक्ने संकेत पाएर होला एकीकृत समाजवादीलगायतका केही घटकले गठबन्धनकै बारेमा पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताइसकेका छन् । यो गठबन्धन नेपाली कांग्रेसको नेतृत्वमा वाम पार्टीहरुलाई राखेर अप्राकृतिक ढंगले निर्माण गरिएका कारण यसको निरन्तरता लामो र टिकाउको हुन नसक्ने यस अघि नै आकंलन पनि गरिएको थियो । यो निर्वाचनबाट पाँच दलीय गठबन्धनका कांग्रेसबाहेकका अन्य दलहरु असफल प्रायः भएका कारणले पनि गठबन्धनमा हेरफेरका संकेतहरु देखिएका हुन् ।
निर्वाचनमा तुलनात्मकरुपमा कम मत खसेको सही हो तर, त्यो बहिष्कारका कारणले हो कि वर्तमान मतदातामा देखिएको राजनीतिक व्यवस्था र विभिन्न दलका नेताहरुप्रतिको वितृष्णाका कारणले हो ? त्यसको अलग्गै अध्ययन अनुसन्धान र व्याख्या÷विश्लेषणको आवश्यकता रहेको छ । निर्वाचनमा एउटा पक्षले जसरी पनि स्वतन्त्र उम्मेदवारी दिएर राजनीतिक भण्डाफोरको नीति लिएको थियो । त्यसको उपलब्धिकाबारेमा पनि अलग्गै छलफलको आवश्यकता रहेको छ । नेमकिपाले भक्तपुरमा नेका, एमाले, माओवादी केन्द्रलगायतका सबै दलले गठबन्धन बनाउँदा पनि जसरी त्यसका विरुद्ध लडेर अत्याधिक मतले विजय पाएको छ, त्यसलाई पनि अलग्गै छलफलको विषय बनाइनुपर्दछ । यस सन्दर्भमा तथ्यांकहरुले के देखाएका छन् भने पाँच दलीय गठबन्धनका घटक र एमालेलगायतका दलका प्रायः नेताहरुको क्षेत्रमा सम्बन्धित पार्टीका उम्मेदवारहरुले चुनाव हारेका छन् । अर्थात् त्यस क्षेत्रमा नेताहरुको शाख गिरेको छ ।
नतिजालाई हेर्दा, कांग्रेस र माओवादी केन्द्रलगायतका गठबन्धनका घटक र एमालेका अधिकांश नेताहरुको पकड रहेका स्थानमा सम्बन्धित दलको पराजय भएको देखिन्छ । कतिपय विद्रोही र नयाँ उम्मेदवारहरुले प्रमुखता पाएको घटनालाई पनि यस सन्दर्भमा गणना गरिनु उपयुक्त हुन्छ । गतिबिधिका हिसाबले यस पटकको स्थानीय निर्वाचनमा संसदवादी दलहरु आफै नाङ्गिएमा छन् भने जनताले पनि उनीहरुलाई सकेको ठाउँमा पराजित गरेर निर्मम ढंगले नै दण्डित गरेका छन् । यो कुनै संयोगको विषय होइन । देशव्यापी रुपमा देखिएका यस्ता घटनालाई प्रमुख छलफलको विषय बनाइनु पर्दछ । यस पटकको स्थानीय निर्वाचनको मुख्य निष्कर्ष र एक मात्र सन्देश भनेको प्रमुख दलका प्रमुख नेता र हाल देशमा विद्यमान विकृत संसदीय बहुदलीय व्यवस्था असफल भयो भन्ने हो । त्यसैले भावी दिनमा विद्यमान राजनीतिक व्यवस्था र हाल क्रियाशील ठूला दलका ठूला नेताहरु किनारा लाग्नुको अर्को विकल्प छैन । जनताको ताजा जनादेशलाई बुझेर आफै पछाडि हट्नु भएन भने उहाँहरुलाई समयले दण्डित गर्ने छ । दलहरु र विद्यमान राजनीतिक व्यवस्था असफल भएको कुरा बुझेका कतिपय तानाशाही शक्तिहरु राजतन्त्र फर्काउने प्रयासमा लागेको पनि देखिएको छ । तर, हालको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा नेपालमा सहजै राजतन्त्र फर्किने सम्भावना छैन । नेपालमा सक्रिय रहेका विदेशी शक्तिको जोड बलमा कथंकदाचित राजतन्त्र फर्काउने काम गरियो भने त्यो नेपालका लागि ठूलो अभिषापसिद्ध हुनेछ । त्यसैले अबको तयारी भनेको वैज्ञानिक समाजवाद स्थापनाको पक्षमा हुनुपर्दछ । जसका लागि सबैभन्दा पहिले हालैको निर्वाचनबाट नेपाली जनताले दण्डित गरेका विभिन्न पार्टीका नेता र वर्तमान राजनीतिक व्यवस्थाको भण्डाफोर हुनुपर्दछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies