२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

गुगल वर्कस्पेसका अनधिकृत सब्सक्रिप्सनका कारण अकाउन्ट बन्द हुने जोखिम

shivam cement
२०८२ फागुन १५ गते २०:४८
Shares
गुगल वर्कस्पेसका अनधिकृत सब्सक्रिप्सनका कारण अकाउन्ट बन्द हुने जोखिम

काठमाडौं : नेपालमा गुगल वर्कस्पेसको आधिकारिक बिक्रेता टेलि डिजिटल सर्भिसेस प्रालिले देशभरका विभिन्न संघसंस्थाहरूलाई अनधिकृत सब्सक्रिप्सनका कारण अकाउन्ट निलम्बन हुन सक्ने भन्दै सचेत गराएको छ । पछिल्लो समय अनधिकृत च्यानलबाट सेवा लिने संस्थाहरूको अकाउन्ट बन्द हुने क्रम बढेपछि कम्पनीले यो जानकारी सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार गुगलको आधिकारिक बिक्रेता सञ्जालभन्दा बाहिरबाट सेवा खरिद गर्ने व्यवसायहरूले इमेल र सेयर ड्राइभमा पहुँच गुमाउने जस्ता गम्भीर अवरोधहरू भोगिरहेका छन् । नेपालमा गुगल वर्कस्पेसको आधिकारिक मूल्य प्रति युजर मासिक ७ अमेरिकी डलर तोकिएको छ । यदि कुनै बिक्रेताले यो भन्दा कम मूल्यमा सेवा उपलब्ध गराइरहेको छ भने त्यसलाई गम्भीर चेतावनीको रूपमा लिनुपर्ने र त्यस्ता सेवाहरू गुगलको आधिकारिक वितरण प्रणालीभन्दा बाहिरबाट आएको हुन सक्ने टेलि डिजिटलले स्पष्ट पारेको छ ।

कतिपय अवस्थामा शैक्षिक योजनाहरू गैर–शैक्षिक संस्थाहरूलाई छुटमा बिक्री गरिने गरिएको पाइएको छ, जुन गुगलको इजाजतपत्र नीतिको उल्लंघन हो । यस्तो उल्लंघनले जुनसुकै बेला अकाउन्ट निलम्बन र डेटा हराउन सक्ने जोखिम रहन्छ, जसले व्यवसायको निरन्तरतामा तत्काल असर पुर्‍याउन सक्छ ।

टेलि डिजिटलका बिजनेस एण्ड मार्केटिङ प्रमुख निखिल खेरादीले भने, ‘अहिले प्रभावित भएका धेरै संस्थाहरूले खराब नियतले यसो गरेका होइनन्, धेरैलाई यसको जानकारी नै थिएन तर, नियत जे भए पनि परिणाम भने गम्भीर हुन्छ, हामी हरेक संस्थालाई आफ्नो सब्सक्रिप्सन तुरुन्त अडिट गर्न आग्रह गर्दछौँ ।’

टेलि डिजिटलले हालसम्म ६० भन्दा बढी वित्तीय सेवा, शिक्षा, स्वास्थ्य, र रिटेल क्षेत्रका ग्राहकहरूलाई सेवा प्रदान गरिसकेको छ । कम्पनीले नेपालमा सुरक्षित र कानुनी प्रविधि इकोसिस्टम निर्माण गर्न आफूहरू प्रतिबद्ध रहेको जनाएको छ ।

हाल टेलि डिजिटलले कुनै पनि संस्थाको गुगल वर्कस्पेस सब्सक्रिप्सन वैध छ वा छैन भनेर जाँच गर्न निःशुल्क परामर्श सेवा उपलब्ध गराइरहेको छ । यसका साथै अकाउन्ट निलम्बन मूल्यांकन, सुरक्षित माइग्रेसन सहयोग र निरन्तर सहयोग जस्ता सुविधाहरू पनि प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित खबर