२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

चितवन-२ : रविलाई मीनाको चुनौती, अरू छायामा

shivam cement
२०८२ फागुन १६ गते ०६:३०
Shares
चितवन-२ : रविलाई मीनाको चुनौती, अरू छायामा

चितवन : फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी चर्चाको क्षेत्र चितवन–२ पनि हो । बागमती प्रदेशअन्तर्गत पर्ने यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले टक्कर दिएकी छन् ।   

चितवन जिल्ला निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरेर २३ जना उम्मेदवार चुनावी मैदानमा छन् । रास्वपा सभापति लामिछाने तेस्रो पटक उम्मेदवार बन्दा नेपाली कांग्रेसले समाजसेवी खरेललाई उम्मेदवार बनाएको हो । त्यस्तै एमालेबाट अस्मिन घिमिरे उम्मेदवार छन् भने नेकपाले प्रताप गुरुङलाई उम्मेदवार बनाएको छ । यी उम्मेदवारमध्ये रविजत्तिकै चर्चामा मीना उत्रिएकी छन् ।

भुइँमान्छेको आवाज बनेर समाजसेवा, महिला अधिकार तथा बालबालिकाको क्षेत्रमा राम्रो पहिचान बनाएकी खरेलले यसपटक आफूले जित्ने दाबी गरेकी छन् । उनने भनिन्, ‘चितवन–२ का आम मतदाताले सामाजिक सञ्जालका भरमा निर्णण लिँदैनन् भन्नेमा म विश्वस्त छु, म हल्लाभन्दा कामलाई प्राथमिकता दिने व्यक्ति हुँ । त्यसकारण मलाई यहाँका नागरिकले राम्रोसँग चिनेकै छन् । मेरो जितलाई कसैले रोक्न सक्दैनन् ।’ 

यद्यपि उनलाई जित निकाल्ने दाबीलाई मत परिणाममा बदल्न भने चुनौतीपूर्ण छ । तर यसपटक चितवन कांग्रेसको एकता र लामो समयपछि भोट हाल्न पाउने सुनिश्चितताले जित निकाल्ने आशा कांग्रेसको छ । भरतपुर–४ की स्थायी बासिन्दा अविवाहित खरेल विगत तीन दशकभन्दा बढी समयदेखि महिला अधिकार र बालबालिकाको पुनस्र्थापनामा सक्रिय रूपमा काम गर्दै आएकी छन् । साथै उनले महिलाले कानुनी सहयोग, सीपमूलक तालिम र आर्थिक आत्मनिर्भरतामा काम गरेका कारण चुनाव जित्ने दाबी कांग्रेसले गरेको छ । यस क्षेत्रमा धेरैजसोले अघिल्लो चुनाव जस्तो रविलाई सहज नभएको र जितेपनि यसअघिको जस्तो ठुलो अन्तर नहुने बताएका छन् । 

२०७९ को प्रतिनिधिसभाको निर्वाचनमा चितवन–२ बाट रविले जितेका थिए ।  तर नागरिकता विवादका कारण सांसद पद गुमाएपछि २०८० को वैशाखमा भएको उपनिर्वाचन लामिछाने ५४ हजार १७६ मत प्राप्त गर्दै विजयी भएका थिए । दोस्रो स्थानमा रहेका कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गरेका थिए भने एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत प्राप्त गरेका थिए ।

त्यसअघि २०७९ को निर्वाचनमा यस क्षेत्रबाट लामिछाने ४९ हजार ३०० मत प्राप्त गर्दै विजयी हुँदा दोस्रो भएका कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत प्राप्त गरेका थिए । त्यस्तै एमालेका कृष्ण भक्त पोख्रेलले १४ हजार ६५२ मत पाएका थिए । सो निर्वाचनमा समानुपातिकतर्फ रास्वपाले ३५ हजार ९४५ मत प्राप्त हुँदा एमालेले १६ हजार ७८४ मत पाएको थियो भने कांग्रेसले १२ हजार १३२ मत प्राप्त गरेको थियो । 

अहिले रास्वपा र कांग्रेसका उम्मेदवारबाहेक अरूको खासै चर्चा छैन । मिडिया र सामाजिक सञ्जालमा रास्वपाको पक्षमा लहर देखिएको छ भने कांग्रेसकी खरेलले रणनीतिक रूपमा मतदातामाझ पुुगेर भोट फर्काउने प्रयासमा छन् ।  यसले रविलाई चुनौती हुनसक्ने स्थानीयहरू बताउँछन् । रवि चुनाव जितेपनि उनले सांसदको शपथ लिन पाउँछन् कि पाउँदैनन् भन्ने प्रश्नका बीच मतदाताहरू अलमलमा परेका छन् । 

रविले अघिल्लो पटक ठुलो मतान्तरले जितेको र रास्वपाको आधार इलाकाको रुपमा रहेको चितवनमा उनको प्रभाव कायमै छ । तर यस पटक धेरै मतदाताले रविविरुद्धका मुद्दा र उनी निर्वाचित भए पनि सांसदको शपथ लिन नपाउने, फेरि उपनिर्वाचन हुनसक्ने जस्ता प्रश्न उठाएका छन् । यसको फाइदा कांग्रेस उम्मेदवार खरेललाई हुने देखिन्छ । यस क्षेत्रका केही मतदातासँग कुरा गर्दा उनीहरूले रास्वपाप्रति सहानुभूति देखाएपनि रविले जितेर पनि क्षेत्र जनप्रतिनिधिविहीन हुने अवस्थाप्रति सचेत रहेको बताउँछन् ।

चितवन क्षेत्र नम्बर २ संसदीय निर्वाचन क्षेत्रमा इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाको वडा नम्बर १ देखि ५, वडा नम्बर ७, वडा नम्बर १० देखि १२ र वडा नम्बर २९ लगायतका वडाहरू समावेश गरिएको छ । निर्वाचन आयोगका अनुसार चितवन–२ मा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ३७ हजार १५२ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १५२ मतदान केन्द्र तोकिएको छ ।

सम्बन्धित खबर