
काठमाडौँः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं रोल्पाका प्रतिनिधि सभा सदस्य उम्मेदवार वर्षमान पुनले आगामी निर्वाचनपछि आफ्नो पार्टीको पहिलो राजनीतिक शक्ति बन्ने हैसियत रहेको बताएका छन् । शनिवार रोल्पाको लिवाङमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले सो दाबी गरेका हुन् ।
उनले मुलुकलाईं नेतृत्व दिन सक्ने नेता र एजेण्डा आफ्नो पार्टीसँग मात्रै रहेको दाबी समेत गरे । रोल्पाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका पुनले मुलुकको राष्ट्रियता, समृद्धि र सबै खालका समस्याहरुलाई सम्बोधन गर्ने सामर्थ्य पनि आफ्नो पार्टीले मात्रै राख्ने जिकिर गरे ।
निर्वाचनपछि आफ्नो पार्टी मुलुकको निर्णायक शक्ति बन्ने र जेन–जीको सकारात्मक मागहरुलाई आफूहरुले सम्बोधन गर्ने आश्वासन समेत उनले दिए । नेता पुनले रोल्पामा आफ्नो पार्टीले सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै अव समृद्धिको नयाँ मोडेलको रुपमा विकास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।