
काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले भिजनको अत्तोपत्तो नभएकाहरू विकल्प हुन नसक्ने बताएका छन् ।
शनिबार नुवाकोट–१ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महतले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै नयाँ भनिएका पार्टी विकल्प हुन नसक्ने बताएका हुन् ।
उनले भने, ‘नयाँ भनेर आएका पार्टीहरू हामीले देखेका छौँ । जसको मिसन र भिजनको अत्तोपत्तो नै छैन । उनीहरू पुराना र लोकतन्त्रका लागि लडेका दलको विकल्प हुन सक्दैनन् ।’
नुवाकोट–१ मा प्रतिनिधि सभा उम्मेदवार समेत रहेका नेता महतले पुराना अरू दुई वटा दल नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले पनि देशलाई निश्चित दिशामा लैजान नसक्ने स्पष्ट भइसकेको बताए ।
महतले कांग्रेस निकै पुरानो पार्टी भएकाले बहस र विवाद हुनु स्वाभाविक रहेको भन्दै समाधान पनि निकाल्ने तर्क गरे ।