२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

मतदातासँग हातेमालो गर्दै राजकाजी महर्जन

shivam cement
रामहरि कार्की
२०८२ फागुन १६ गते २१:५६
Shares
मतदातासँग हातेमालो गर्दै राजकाजी महर्जन

ललितपुर : प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूले घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।

निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेसँगै दलहरू प्रचार–प्रसारमा सक्रिय बनेका हुन् । आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दा उम्मेदवारहरू मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त देखिएका छन् ।

ललितपुर क्षेत्र नं. ३ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार राजकाजी महर्जन यतिबेला घरदैलो अभियानमा जुटेका छन् । 

शनिबार उनले गोदावरी नगरपालिका वडा नं. १२ का स्थानीयबासीसँग भेटघाट गर्दै आफ्ना एजेन्डा र विकास योजनाबारे जानकारी गराए । यसअघि उनी ललितपुर महानगरपालिकाका विभिन्न वडाहरू र गोदावरी नगरपालिका वडा नं. १४ मा पनि पुगिसकेका छन् । घरदैलोमार्फत मतदातासँग हातेमालो गर्दै उनले समर्थन जुटाउने प्रयासलाई तीव्र बनाएका छन् ।

महर्जनले आफ्नो क्षेत्रको मौलिक पहिचान जोगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्राचीन बस्तीमा रहेका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र संवर्धनलाई प्राथमिकतामा राख्ने उनको योजना छ । विश्वकै लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रादेखि रुद्रायणी देवी नाच, हरिसिद्धि भवानी नाच र ठेचो नवदुर्गा भवानी नाचजस्ता परम्परागत जात्रालाई राज्यस्तरबाट व्यवस्थित गर्न पहल गर्ने उनले बताएका छन् । समुदायमा क्रियाशील गुठी, दाफा, खलः र पुचःजस्ता सांस्कृतिक संरचनाको प्रवद्र्धनसँगै सबै समुदायका धार्मिक चाडपर्वको संरक्षणमा समेत जोड दिने उनको अठोट छ ।

कार्यविनायक, सिकाली चौर, बालकुमारी चौर र स्वेत बाराहीजस्ता पर्यटकीय क्षेत्रको विकासमार्फत स्थानीय अर्थतन्त्र मजबुत बनाउने महर्जनको लक्ष्य छ । सम्पदा क्षेत्रका बस्तीमा होमस्टे प्रभावकारी रूपमा सञ्चालन गरी रोजगारी सिर्जना गर्ने र धापाखेलको नागदहलाई राष्ट्रिय गौरवको कार्यक्रममा समावेश गराउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

पूर्वाधार विकासलाई उनले समृद्धिको आधार मानेका छन् । कान्ति लोकपथको मापदण्ड कायम राख्न पहल गर्ने, खोकना–बुङ्मती क्षेत्रबाट सञ्चालन भएका राष्ट्रिय योजनाबाट प्रभावित समुदायको समस्या न्यायोचित ढङ्गले समाधान गर्ने उनको योजना छ । सातदोबाटो र कुपण्डोलमा फ्लाइओभर निर्माण, सडक स्तरोन्नति, सार्वजनिक यातायातको विस्तार तथा बागमती, नख्खु र कर्मनासा कोरिडोरको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।

व्यवस्थित कृषि बजार र बीउबिजन केन्द्र स्थापना गर्दै आधुनिक तथा अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्ने उनको सोच छ । कृषकलाई सहज रूपमा मल उपलब्ध गराउने र प्राविधिक तालिममार्फत उत्पादन वृद्धि गर्ने योजनासमेत उनले अघि सारेका छन् ।

खानेपानीको दिगो व्यवस्थापन र परम्परागत सिंचाइ प्रणाली राजकुलो तथा खोकना कुलोलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उनको प्रतिबद्धता छ । स्थानीय मुहानको संरक्षण गर्दै गाउँदेखि शहरसम्म पानीको पहुँच विस्तार गर्ने योजना उनले अघि सारेका छन् ।

युवालाई सीपमूलक तालिम, व्यावसायिक कर्जा र स्वरोजगार कार्यक्रममार्फत सशक्त बनाउने महर्जनको लक्ष्य छ । बहुउद्देश्यीय खेलकुद भवन निर्माण, युवा क्लब सुदृढीकरण र विदेशबाट फर्किएका युवाको ज्ञान–सीप उपयोग गर्ने वातावरण सिर्जना गर्ने उनले बताएका छन् ।

महिला समूहलाई व्यावसायिक रूपमा अघि बढाउने, बालमैत्री समुदाय निर्माण गर्ने र ज्येष्ठ नागरिकका लागि नियमित स्वास्थ्य परीक्षण तथा दिवा सेवा केन्द्र सञ्चालन गर्ने योजना उनले सार्वजनिक गरेका छन् ।

सामुदायिक विद्यालयलाई सुविधा सम्पन्न बनाउँदै गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, शिक्षक क्षमता अभिवृद्धि गर्ने र प्राविधिक शिक्षामा जोड दिने उनको प्रतिबद्धता छ । सरकारी अस्पतालको स्तरोन्नति, स्वास्थ्य बीमा प्रभावकारी कार्यान्वयन र आधारभूत स्वास्थ्य केन्द्र सुदृढीकरणमा उनले प्राथमिकता दिएका छन् ।

सफा नदी अभियान, ढल व्यवस्थापन, कोरिडोर क्षेत्रमा हरियाली पार्क निर्माण, वृक्षारोपण तथा प्राकृतिक प्रकोप न्यूनीकरणका पूर्वतयारी कार्यक्रम सञ्चालन गर्ने उनले बताएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार सुशासन कायम गर्दै भ्रष्टाचार अन्त्यका लागि सडकदेखि सदनसम्म सङ्घर्ष गर्ने उनले प्रतिबद्धता जनाएका छन् । सहकारी पीडितको समस्या समाधान, शेयर बजारमा पारदर्शिता, गोरखा भर्ती सम्झौता पुनरावलोकन तथा समुदायमा देखिएका विभेद अन्त्य गर्न पहल गर्ने उनले बताएका छन् ।

घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका महर्जनले यी प्रतिबद्धतामार्फत विकास, संरक्षण र सुशासनको सन्देश दिइरहेका छन् । निर्वाचन क्षेत्रका १ लाख २ हजार ४ सय ३७ मतदातामाझ उनले आफ्नो योजना र दृष्टिकोण प्रस्तुत गर्दै समर्थनको अपिल गरिरहेका छन् ।

सम्बन्धित खबर