
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणका क्रममा प्राप्त अनुभव र भएका राजनीतिक छलफललाई पार्टीको सांगठनिक गतिविधि तथा मुलुकको विकासमा उपयोग हुने गरी कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् ।
चीन भ्रमण सकेर स्वदेश फर्किएका पार्टी महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलबाट शुक्रबार भ्रमणबारे जानकारी लिएपछि लामिछानेले यस्तो निर्देशन दिएका हुन् ।
महामन्त्री आचार्यको नेतृत्वमा नोभेम्बर १५ देखि चीनका सिचुवान, चच्याङ र बेइजिङको भ्रमण गरेको २० सदस्यीय प्रतिनिधिमण्डल नोभेम्बर २६ मा स्वदेश फर्किएको थियो ।
भ्रमणको राजनीतिक पक्षबारे जानकारी गराउँदै आचार्यले चिनियाँ कम्युनिष्ट पार्टीका नेता ली शुलेईसँग भएको विस्तृत उच्चस्तरीय भेटवार्ता तथा केन्द्रीय तहदेखि काउन्टी तहसम्मका नेताहरूसँग भएको संवादबारे सभापतिलाई अवगत गराएका थिए ।
भेटवार्तामा दुई पार्टीबीचको बहुआयामिक सम्बन्ध विस्तार, पारस्परिक राजनीतिक विश्वास सुदृढीकरण, नीति तथा संगठन सञ्चालनका अनुभव आदानप्रदान र सुशासन एवं विकासका क्षेत्रमा अन्तरपार्टी सहकार्यबारे छलफल भएको रास्वपाले जनाएको छ ।
चिनियाँ पक्षसँगको भेटमा नेपाल–चीन द्विपक्षीय सहकार्यका सम्भावनाबारे पनि खुला छलफल भएको महामन्त्री आचार्यले जानकारी गराएका छन् ।
प्रतिनिधिमण्डलले विभिन्न उद्योग तथा व्यावसायिक प्रतिष्ठानको अवलोकन र अन्तरक्रिया गर्नुका साथै विपद्पूर्वको तयारी तथा विपद्पश्चात् अपनाइने रणनीतिबारे अध्ययन र छलफल गरेको थियो ।
सभापति लामिछानेले भ्रमणका क्रममा स्थापित उच्चस्तरीय राजनीतिक संवाद, प्राप्त सिकाइ र छलफलका विषयलाई व्यावहारिक कार्यान्वयनमा लैजान महामन्त्री आचार्यमार्फत प्रतिनिधिमण्डललाई निर्देशन दिएका छन् ।