२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

देश पहिले भावनाका साथ एमालेलाई भोट दिनुहोस्ः ओली 

shivam cement
२०८२ फागुन १७ गते १२:३७
Shares
देश पहिले भावनाका साथ एमालेलाई भोट दिनुहोस्ः ओली 

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश पहिले भन्ने भावनाका साथ आफ्नो पार्टीको पक्षमा मतदानका लागि आहृवान गरेका छन् । उनले देश रहला कि नरहलाको स्थिति रहेकाले राष्ट्रको पक्षमा निर्णय गरेँ भन्ने आत्मसन्तुष्टिका लागि पनि आफूलाई साथ दिन उनले आग्रह गरेका छन् । 

ओलीले एक भिडियो सन्देशमार्फत सम्बोधन गर्दै जिन्दगीको अन्तिम मोडमा उभिएर आफूले राष्ट्रको पक्षमा बोल्नु कर्तव्य भएको बताएका हुन्। ‘तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा ? यतिबेला तपाईंले आफू कुन कित्तामा हो भनेर स्पष्ट पार्नुभएन र त्यसको लागि बोल्नुभएन भने इतिहासले होइन, तपाईं आफैंले आफैंलाई कहिल्यै माफ गर्नुहुने छैन । इतिहासले धिक्कारेको कुरा आफैंले त कसैले देख्दैन,’ उनले थपे, ‘तर जिन्दगीको अन्तिम मोडतिर पुग्दा मैले त्यतिबेला बोल्नुपर्थ्यो कि पर्दैनथ्यो ? मैले त्यतिबेला आँखा र कान खोल्नुपर्थ्यो कि पर्दैनथ्यो ? मैले त्यतिबेला हात खुट्टा जुरुक्क उठाउनुपर्थ्यो कि पर्दैनथ्यो भनेर आफैंलाई सोध्दा त्यसको जवाफ दिने नैतिक साहस तपाईंसँग बाँकी रहोस् ।’

एमाले अध्यक्ष ओलीले भदौ २४ मा सिंहदबार, सर्वोच्च अदालत, संसद् भवन, प्रहरी चौकी जल्दा सपना पनि जलेको भन्दै  देश र संविधानको रक्षाका लागि आफ्नो दललाई मत दिन आग्रह गरेका छन् । ‘‘मैले राष्ट्रको पक्षमा निर्णय गरे भन्ने आत्मसन्तुष्टि तपाईंमा रहिरहोस् । यसै पनि मेरा त बाँच्ने दिन, बाँचिसकेका दिनभन्दा कम छन् । तर म बाँच्ने दिन बाँचिसकेका दिनभन्दा बढी भएकाहरुका लागि लड्दै छु । त्यसैले मैले देश पहिले भन्दै आएको छु ’ जीवनका उत्तरार्धमा चुनावी प्रतिस्पर्धा गरिरहेको बताउँदै ओलीले भनेका छन्, ‘अब तपाईंले पनि देश पहिले भन्ने दिन आएको छ । देश पहिले भनेको संविधान र नियम पहिले भनेको हो । देश पहिले भनेको भूमि र जनता पहिले भनेको हो । र, देश पहिले भनेको संविधान र नियम पहिले भनेको हो । संविधान बचे मात्र तपाईंको अधिकार बच्छ ।’

बोल्ने, बाँच्ने, न्याय पाउने र आफ्नो मतको अधिकारसँगै संविधान नहल्लिने, नियम नमिच्ने र अधिकार नकुल्चिने ग्यारेन्टी चाहिएको उल्लेख गर्दै उनले त्यस ग्यारेन्टीको लागि देश पहिले भन्ने भावना चाहिएको बताए । ‘देश पहिले भनेको सार्वजनिक सम्पत्ति पहिले भनेको हो । सिंहदरबार अदालत संसद्, सडक सरकारी कार्यालय प्रहरी चौकी सुरक्षा निकाय यी सबै तपाईंको कर र भरोसाले बनेका हुन् । यी जल्दा तपाईंको भरोसा मात्र होइन, तपाईंको सपना पनि जल्छ, जलेको छ । आज हामीलाई अब यी कहिले नजल्ने ग्यारेन्टी चाहिएको छ’, ओलीले भनेका छन् ।  

देश पहिले भनेको राष्ट्रिय स्वाधीनता र स्वाभिमान पहिले भनेको उल्लेख गर्दै ’आफ्नो माटो, आफनो सिमा, आफ्नो पहिचान यी सबैमा गर्व गर्ने शक्ति नै हाम्रो आत्मबल’ भएको ओलीको भनाइ छ ।  ‘त्यसैले आज हामीलाई आफ्नो स्वाभिमान नचुक्ने ग्यारेन्टी चाहिएको छ,’ उनले भने । 

 

सम्बन्धित खबर