२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

भास्कर कोइराला कहाँ छन् ?, चुनावी मौसममा हराएको एक चर्चित नाम

shivam cement
२०८२ फागुन १७ गते १३:०१
Shares
भास्कर कोइराला कहाँ छन् ?, चुनावी मौसममा हराएको एक चर्चित नाम

फागुन २१ नजिकिँदैछ। देश चुनावी तापले तातिएको छ। पार्टीहरू व्यस्त छन्, नेताहरू मैदानमा छन्, सामाजिक सञ्जाल र मिडियामा दिनहुँ नयाँ अनुहार र पुराना दाबीहरू देखिन्छन्। तर यही भीडभाडबीच एउटा नाम भने अनौठो रूपमा अनुपस्थित छ, भास्कर कोइराला।

नेपालको चर्चित कोइराला राजनीतिक परिवारबाट आएका भास्कर कोइराला राजनीतिमा प्रत्यक्ष सक्रिय छैनन्। तर उनी सधैं ‘राजनीतिभन्दा माथि’ राखिने नाम हुन्-नीति विश्लेषक, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका जानकार, र विचार निर्माणमा गहिरो पकड भएका व्यक्तित्व। त्यसैले चुनावी समयमै उनको अनुपस्थिति झन् चासोको विषय बनेको छ।

जेन–जी आन्दोलनपछि शिखरमा पुगेको नाम

जेन–जी आन्दोलनको समय भास्कर कोइरालाको नाम एकाएक जनचासोको केन्द्रमा आयो। सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म, विदेश मन्त्रीका लागि वैकल्पिक र ‘स्वच्छ’ अनुहारको रूपमा उनको नाम बारम्बार उठ्यो। त्यसबेला उनीसँगै विजय लामा, राजेश हमाल, जयराज आचार्य र मनीषा कोइराला जस्ता चर्चित व्यक्तित्वहरूको नाम पनि एउटै सूचीमा चर्चा भएको थियो। तर अचम्म के भने त्यति बेला लोकप्रियताको शिखरमा पुगेका भास्कर कोइराला न त राजनीतिक मैदानमा देखिए, न त मिडियामा।
 

न समर्थन, न विरोध पूर्ण मौन

यस चुनावमा पनि भास्कर कोइरालाले कुनै दल वा उम्मेदवारलाई खुला समर्थन गरेको देखिँदैन। सामाजिक सञ्जालमा उनको उपस्थिति न्यून छ, राजनीतिक वा अन्तर्राष्ट्रिय विषयमा लेख–टिप्पणी झन् दुर्लभ। टेलिभिजन अन्तर्वार्ता त झन् भेटिनै गाह्रो छ।
यस्तो अवस्थामा स्वाभाविक प्रश्न उठ्छ, उनी कहाँ छन्? के गर्दै छन्?

‘निश’ देखि आजसम्म

भास्कर कोइराला कुनै समय नेपाल इन्स्टिच्युट अफ इन्टरनेशनल एन्ड स्ट्राटेजिक स्टडिज (NIISS) का प्रमुख थिए। नीति, कूटनीति र रणनीतिक विषयमा केन्द्रित यो संस्थामा काम गर्दा उनले धेरै युवा र अनुभवी विश्लेषकहरूलाई एकै ठाउँमा ल्याएका थिए। रोचक संयोग-त्यही टिममा पछि ‘उज्यालो नेपाल’ राजनीतिको अनुहार बनेका कुलमान घिसिङ पनि सदस्य थिए, जो हाल उज्यालो नेपाल पार्टी का प्रमुखका रूपमा चिनिन्छन्।

रहस्यमय मौनता

मिडियाबाट टाढा, राजनीतिबाट पर तर जनचासोबाट भने कहिल्यै टाढा नभएका भास्कर कोइरालाको व्यक्तित्व आफैंमा रहस्यमय छ। धेरैले उनलाई ‘ब्याकग्राउन्डमा बसेर नीति सोच्ने मान्छे’ भन्छन्, कोही उनलाई ‘समय पर्खिरहेका’ बुद्धिजीवी ठान्छन्। जेन–जी आन्दोलनपछि, जब उनको नाम लोकप्रियताको शिखरमा थियो, त्यही समयमा उनी न राजनीतिमा आए, न मिडियामा बोले। अहिले चुनावी मौसममा पनि उही मौनता।

अन्तिम प्रश्न भास्कर कोइराला कहाँ छन्?

शायद उनी देश–विदेश कतै नीति र अध्ययनमै व्यस्त छन्। शायद उनी सचेत रूपमा मिडिया र चुनावी राजनीतिबाट टाढा बसेका छन्। वा शायद उनी अझै सही समयको प्रतीक्षामा छन्। तर एउटा कुरा निश्चित छ चुनावी भीडमा हराएको यो नाम अझै पनि जनमानसमा जिउँदो छ। र प्रश्न अझै गुञ्जिरहेकै छ भास्कर कोइराला कहाँ छन् ?
 

सम्बन्धित खबर