२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

नयाँ विचारको खोजी

ADV
२०८१ साउन १८ गते ०६:२५
नयाँ विचारको खोजी

–युवराज संग्रौला

नेपालको राजनीतिमा नयाँ विचारको आगमन आजको आवश्यकता हो । २००७ सालदेखि नै नेपालको राजनीति ‘बाम’ राजनीतिको प्रवृत्तिबाट अगाडि आएको छ । यहाँ ‘बाम’ शब्दले समाजवादी वा कम्युनिस्ट राजनीतिलाई मात्र जनाउँदैन । यो शब्दले ‘अधीन वा अधिनायकवाद’को विरुद्धको आवाज र आन्दोलन हो भन्ने कुरा बोकेको छ । नेपालमा बाम आन्दोलनको इतिहास कांग्रेसको समाजवाद र कम्युनिस्टहरूको साम्यवाद भन्दा पुरानो छ ।

बाम तागत भनेको राजनीतिमा स्थापित सत्ताको दमन, आर्थिक सत्ताधारीको दमन, धार्मिक दमन र पितृसत्तात्मक दमनको विरोध गर्ने सोच र विचारधारा हो । राणाहरूका विरुद्ध मकै आन्दोलन चारशिदले गरेको आन्दोलन बाम शक्तिको आन्दोलन नै थियो । यस कोणबाट हेर्ने हो भने ‘बाम’ राजनैतिक सोचको अगाडि स्वयम् कम्युनिस्ट पार्टी समेत बाम वर्ग विरोधी शक्तिमा पर्ने देखिन्छ ।

नेपालको २०४७ र २०६३ सालमा स्थापित लोकतन्त्र, निर्वाचनताकाको कांग्रेस र माओवादी तथा राप्रपा, जसपा र एमालेको गठबन्धनबाट समाप्त भइसकेको छ, जसले उनीहरूको विचार पतनको अवस्थालाई देखाउँछ । अब देशले सामाजिक नागरिकतन्त्रको अपेक्षा गरिरहेको छ भन्ने कुरा पनि स्पष्ट छ र देशको राजनीति मार्ग पनि त्यसकै लागि मुखरित हुनेछ । सडकका अनुशासनहीन चटक र नवउदारवादको दम छैन ।

किन सकियो २०४७ र २०६३ मा स्थापित लोकतन्त्र ? किनकि, वर्तमान राज्यको नेतृत्व गर्ने कांग्रेस र कम्युनिस्ट राजनीति दलहरूले समाजमा अछुतको व्यवहार भोगिरहेको समुदायमाथिको सामाजिक दमनको अन्त्य गर्ने त होइन, संविधानमा दलितको छुट्टै पहिचान  कायम गरी अस्पृश्यतालाई संस्थागत गरे, यिनले नेपालमा महिलामाथिको सामाजिक र आर्थिक दमन पनि यथावत् कायम राखे र महिला मुक्तीका नाममा केही सम्भ्रान्त महिलालाई पुरुषमा रूपान्तरण गर्ने काम मात्र गरे, यिनले राजनीतिमा सामन्ती नायकहरूको निर्माण गरे र राजकीय पदहरूमा उनीहरूको अधीन निर्माण गरे र यिनले आफ्नो फाइदाका लागि धर्मका नाममा अन्धविश्वासलाई संस्थागत गरे । यिनको विरोध गर्ने शक्ति, जसले प्रश्न गर्छ यसो किन भयो भनेर त्यो नै वामपन्थ हो, जो पुनर्जीवित हुन आवश्यक छ ।

जब रसियामा जारका विरुद्धमा दुमाको गठन भयो, त्यहाँ केही मानिस थिए । उनीहरू जारशाहीको विरोधमा थिए, चर्चको अधीनको विरोधमा थिए र परम्पराका नाममा कायम रहेको सामन्तवादको विरोधमा पनि थिए, फ्रेन्च क्रान्तिकारीहरू राजतन्त्र, सामाजिक अन्याय र कुलिनतन्त्रका विरोधमा थिए । यिनै शक्तिलाई परिवर्तन पक्षधर विरोधी वा बाम भनियो ।

अर्थात् बाम त्यो राजनीतिक आन्दोलन हो, जसले स्थापित सत्ता र त्यसका अधीनका संयन्त्र र अधिनायकवादको विरोध गर्छ । आज नेपाली समाजको आर्थिक तथा सामाजिक रूपान्तरणको अवरोध गर्ने तागत समाजवाद र साम्यवादकै नाममा सत्तामा पुगेका मानिस होइनन् र ? त्यसैले, नागरिकतन्त्रको लागि स्थापित तागतको विरुद्ध मा ‘बाम सोच’को पुनस्र्थापना हुनु नै अबको लोकतन्त्रको बाटो हो । किसान र व्यवसायीमाथि कर थोपरेर महँगा सवारी चढ्ने र उत्पादन होइन, पैसाले पैसा कमाउने ‘क्रोनी’ अर्थतन्त्रका मतियार बनेका व्यापारी र नेताको विरुद्ध, आरक्षणका नाममा जात र अस्पृश्यता कायम गर्दै सामाजिक दमनलाई कायम राख्ने पुरोहितवादका विरुद्ध, महिलाहरूको उत्पादकत्व र प्रतिस्पर्धी सहभागिता होइन, प्रत्येक निकायमा उनीहरूको उपस्थिति कायम गर्ने तदर्थवाद र जागिरलाई हैसियत बनाएर राज्यका सुबिधाले पोस्ने प्रवृत्तिका विरुद्ध सशक्त आवाज र आन्दोलन निर्माण भए मात्र नेपालमा नागरिकतन्त्रको जग बस्न सक्छ । यो चेतनाको आन्दोलन नै ‘बाम’ शक्ति हो, जसले स्वयम् कम्युनिस्ट पार्टीलाई वर्ग विरोधी शक्तिमा राख्नुपर्ने बाध्यता बेहोर्नुपर्ने अवस्था छ । 

नेपाली राजनीतिमा चाख भएका युवाहरूले सोच्नुपर्ने सोच यही नै हो । बिना राजनीति दर्शन भेडा बाख्रा बटुलेर, फोहोर कुरा बोलेर, चटक गरेर सामाजिक सञ्जालबाट लोकप्रियता कायम गरेर राजनीतिको नाटक खेल्न सकिन्छ, समाजको परिवर्तन होइन ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise