
काठमाडौं : नागरिक समाजको छाता संस्था गैरसरकारी संस्था महासंघ नेपालको समन्वयमा नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने प्रमुख विषय समेटिएको ध्यानाकर्षण पत्र सरकारलाई हस्तान्तरण गरिएको छ ।
महासंघका अनुसार उक्त सुझावपत्र आगामी कमिसन अन द स्टाटस अफ वुमन (महिलाको अवस्थासम्बन्धी आयोग) को ७०औं सत्रमा नेपालको सहभागितालाई लक्षित गर्दै तयार पारिएको हो । सो सत्रमा नेपाल सरकारको प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम तय भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठको नेतृत्वमा जाने प्रतिनिधिमण्डलमा मन्त्रालयका सचिव राधिका अर्याल र सहसचिव आभा श्रेष्ठ पनि रहने जनाइएको छ । नागरिक समाज संस्थाहरूले उनीहरूलाई पनि औपचारिक रूपमा सुझावपत्र हस्तान्तरण गरेका छन् ।

महासंघका अनुसार सुझावपत्रमा लैङ्गिक समानता प्रवर्धन, महिला सशक्तीकरण, महिला अधिकार संरक्षण, नीतिगत प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन तथा अन्तर्राष्ट्रिय दायित्व पूरा गर्ने सन्दर्भमा नेपालको प्राथमिकताबारे स्पष्ट धारणा प्रस्तुत गरिएको छ ।
नागरिक समाजले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको यथार्थ अवस्था, चुनौती र उपलब्धिहरू सन्तुलित रूपमा प्रस्तुत गर्दै सरोकारवालाहरूको साझा आवाज प्रभावकारी रूपमा उठाउन सरकारसँग आग्रह गरिएको जनाएको छ ।
यस पहलले सरकार र नागरिक समाजबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।