२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

रोकिएन आचारसंहिता उल्लंघन, निरीह निर्वाचन आयोग, ठुला दलहरू नै अटेरी

shivam cement
दिवाकर अधिकारी
२०८२ फागुन १८ गते ०६:२०
Shares
रोकिएन आचारसंहिता उल्लंघन, निरीह निर्वाचन आयोग, ठुला दलहरू नै अटेरी

काठमाडौं : निर्वाचनलाई स्वच्छ, निश्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गरेको छ । तर, आचारसंहिताको उल्लंघन गर्ने प्रवृति भने निर्वाचन प्रचारप्रसार अवधिभर रोकिएन । 

निर्वाचन आचारसंहिता पालनाको सन्दर्भमा ठूला भनिएका दलहरू नै गम्भीर नरहेको पाइएको छ । मुलुककै नेतृत्व गर्ने गरी जनतासँग जनमत मागिरहेका दलहरूले निर्वाचन आचारसंहिताको पालनामा भने ध्यान दिइरहेका छैनन् । 

निर्वाचन आयोगका अनुसार ६७ दल प्रत्यक्षतर्फ चुनावी मैदानमा छन् । त्यसमध्ये ११ दलले मात्रै चुनावी खर्चसम्बन्धी कारोबार गर्न छुट्टै बैंक खाता खोलेका छन् । ५६ दलले निर्वाचन आयोगले तय गरे अनुसार आचारसंहिताको पालना गरेनन् । 

निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा (संयुक्त), नेपाली कम्युनिष्ट पार्टी, नेपालका लागि नेपाली पार्टीले छुट्टै बैंक खाता खोलेका छन् । जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीले पनि छुट्टै बैंक खाता खोले । तर, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले लगायतका दलहरूले भने चुनावी खर्चसम्बन्धी कारोबार गर्न छुट्टै बैंक खाता खोलेका छैनन् । 

प्रत्यक्षतर्फबाट निर्वाचित हुने १६५ सिटका लागि ३ हजार ४०६ जना उम्मेदवार छन् । यसमध्ये केवल एक हजार ८६५ जनाले छुट्टै बैंक खाता खोलेका छन् । बाँकी १५४१ उम्मेदवारले चुनावी खर्चसम्बन्धी कारोबार गर्न छुट्टै बैंक खाता खोलेका छैनन् । यो निर्वाचन आचारसंहिता उल्लंघन वा निर्वाचन आयोगको आग्रहको अटेरी हो । 

यसबाहेक पनि आचारसंहिताका विषयहरू कार्यान्वयनमा आउन सकेनन् । देशका विभिन्न भागमा र्‍याली तथा सभाहरुमा बालबालिका सहभागी भएका छन् । पत्रकारहरुमाथि धम्की तथा कुटपीट भएको छ । आचारसंहिता विपरीत भौतिक रुपमा चुनाव चिन्हको प्रयोग हुन रोकिएन । विना अनुमति व्यक्तिका घरहरुमा प्रचार सामग्री र झण्डा टाँगिएका छन् । स्थानीय निकाय तथा प्रदेश सरकारका पदाधिकारीहरु निर्वाचनको प्रचारप्रसारमा सहभागी भएका छन् । 

राष्ट्रिय मानव अधिकार आयोगले अनुगमनका क्रममा  अनुमतिबिना बढी सवारीसाधन प्रयोग गरेको, मतदाताहरुलाई अनुचित प्रभाव पार्ने प्रयास गरेको, दलका कार्यकर्ता र समर्थकहरुले सामाजिक सञ्जालको दुरुपयोग गरेको पाइएको जनाएको छ । यस्ता कार्य आचारसंहिता विपरीत हो । 

मानव अधिकार आयोगले प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा ४२ जिल्लामा निर्वाचनपूर्वको अनुगमन गरेको छ । अनुगमनपछि आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेल विज्ञप्ति निकालेर आचारसंहिताको पूर्ण परिपालना हुन नसकेको पाइएको बताएका छन् । ‘आयोगले गरेको निर्वाचनपूर्वको अनुगमनको क्रममा उम्मेदवारहरुबाट निर्वाचन आचारसंहिताको पूर्ण परिपालना हुन नसकेको पाइएको छ’ विज्ञप्तिमा उल्लेख छ । 

आचारसंहिता पालनाको विषयमा नेपाली कांग्रेसले समेत निर्वाचन आयोगको ध्यानाकर्षण गरेको छ । कांग्रेसका प्रवक्ता देवराज चालिसेको नेतृत्वको टोलीले निर्वाचन आयोगको कार्यालय पुगेर कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई चार बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा ‘राजनीतिक दलहरूले भौतिक चुनाव चिह्नको खुलेआम दुरुपयोग गरिरहेको’ उल्लेख छ । यसअघि निर्वाचन आयोगले चुनाव चिह्नको भौत्तिक रुपमै प्रयोग गर्न नपाइने भनेर विज्ञप्ति नै निकालेको थियो ।

राजनीतिक दलहरुले निर्वाचन प्रचार–प्रसार अभियानका क्रममा बालबालिकालाई सहभागी गराएको अर्को बुँदा छ । निर्वाचनको प्रचारप्रसार वा अनय प्रकारका गतिविधिमा बालबालिकाको प्रयोग गर्न नपाइने निर्वाचन आचारसंहितामा छ ।

निर्वाचन आयोगले राष्ट्रिय झण्डाको प्रयोगको सम्बन्धमा गरेको निर्देशन विपरीत राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको भन्ने विषय तेस्रो बुँदामा छ ।

अन्तिम बुँदामा मिथ्या सूचनाको दुष्प्रचार गरी जनमतलाई आफ्नो दलको अभिष्ट पूरा गराउने उद्देश्यले सामाजिक सञ्जालमार्फत् निर्वाचन आचारसंहिताको विपरीत हुने गरी सूचना सम्प्रेषण भइरहेको उल्लेख छ ।

सम्बन्धित खबर