२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

प्रभाव रोक्न ४८ घण्टे मौन अवधि

shivam cement
२०८२ फागुन १९ गते ०६:२५
Shares
प्रभाव रोक्न ४८ घण्टे मौन अवधि

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनको औपचारिक प्रचार अभियान सकेका राजनीतिक दल र उम्मेदवारहरू अनौपचारिक रूपमा हुने भेटघाटमा केन्द्रित हुने तयारीमा छन् । फागुन २१ मा हुने चुनावको प्रचारप्रसार सोमबार राति १२ बजेबाटै सकिएको छ । यो अवधिमा कुनै दल, उम्मेदवार वा उसका समर्थकहरूबाट समेत चुनावसँग सम्बन्धित कुनै प्रकारका गतिविधि गर्न नपाईने निर्वाचन आयोगले जनाएको छ । यो अवधिलाई निर्वाचनको मौन अवधिको रूपमा लिइएको छ । 

यस अवधिमा राजनीतिक विज्ञापन, सामाजिक सञ्जालमा प्रचारप्रसार, कुनै किसिमको सन्देश सम्प्रेषणलगायत निर्वाचन प्रचारसँग सम्बन्धित कार्य गर्न निषेध गरिएको छ । मौन अवधिभित्र दल, उम्मेदवार, मतदतासहित सबै पक्षबाट के–के गर्न पाइँदैन भन्ने कुरा स्पष्ट उल्लेख छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टा अघिदेखि मतदान सम्पन्न भई मतदान केन्द्र बन्द नहुन्जेलसम्म आयोगबाट प्रचारप्रसारलाई पूर्ण निषेध अवधि तोकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । सोमबार राति १२ बजेपछि निर्वाचनका प्रचारप्रसार गरी मत माग्न नपाइने उनको भनाई छ । 

निर्वाचन कार्यतालिकाअनुसार फागुन २१ गते बिहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म मतदान हुँदैछ ।  निर्वाचन आचारसंहिता, २०८२ मा प्रचारप्रसार निषेध (मौन) अवधिमा उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने विशेष आचरण उल्लेख छ । सोही अनुसार सबैपक्षबाट आचारसंहितालाई पूर्ण पालना गर्नुपर्ने आयोगले निर्देशन दिएको छ । यद्यपि आयोगले जारी गरेको निर्वाचन आचारसंहिता औपचारिकरूप दलहरूले पालना गर्ने गरेपनि मौन अवधिमै बढी चलखेल हुने विगतको अभ्यास छ । निर्वाचन आचारसंहिता विपरित हुने गतिविधिलाई रोक्न निर्वाचन आयोगले कडाईकासाथ निर्देशन दिएको जनाएको छ । दल तथा उम्मेदवारहरूले मतदाता प्रभावित पार्ने मुख्य समयकारूपमा लिने मौन अवधिलाई लिने गरेका छन् ।   

चुनावमा सबैखालका शक्ति प्रयोग गर्ने उम्मेलदवार र दलहरूले मौन अवधिलाई नै बढी प्रभावकारी मानेर अनौपचारिक भेटघाटमा व्यस्त हुने गरेको नागरिक समाजका अगुवाहरूको अनुुभव छ ।  यो अवधिमा एक दलले अर्को दलका गतिविधिलाई समेत नजिकबाट नियाल्ने गरेका छन् । मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधिमा सबैजसो दलहरू सक्रिय देखिन्छन् । यो सँगै एक अर्का दल तथा समर्थकहरूले प्रतिस्पर्धिहरूको क्रियाकलापकाबारे स्थानीय प्रशासन तथा निर्वाचन अधिकृतको कार्यालयमा उजूरी गर्ने गरेका छन् ।  

फागुन ४ गतेदेखि राजनीतिक दलले निर्वाचनका लागि प्रचारप्रसार गरी मत माग्दै आएका थिए । त्यसपछिको अवधिमा मतदाताले आफ्नो विवेकको निर्णय आफ्नै अन्तरआत्माले स्वतन्त्रतापूर्वक गर्ने अवसरका निम्ति शान्ति वा निषेध अवधि अनिवार्य हुने र यसले स्वच्छ प्रतिस्पर्धालाई प्रवद्र्धन गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ । दलले प्रचारप्रसार गर्ने अन्तिम दिन हिमाली र पहाडी जिल्लामा फागु पूर्णिमा पर्व परेकाले पर्वसँगै निर्वाचन प्रचारप्रसारलाई रौनक बनाएका थिए ।  

मतदान हुने दिनको ४८ घण्टाअघिबाट मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्ने व्यवस्था पनि गरिएको छ । यसैगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि विद्युतीय माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा गराउन निषेध गरिएको छ। मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पुर्‍याउने कार्य गर्न नहुने पनि निर्वाचन आचारसंहिता, २०८२ मा उल्लेख छ ।

आचारसंहिताको इमान्दारीपूर्वक पालना र कार्यान्वयनले सजग मतदाता तयार पार्न र निर्वाचनको निष्ठा प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको सहायक प्रवक्ता जिसीले बताए । संविधानले प्रदान गरेको अधिकारअनुसार निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन, नियन्त्रण, समन्वय तथा सम्पूर्ण व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख रामप्रसाद भण्डारीले मौन अवधिलाई सबै पक्षबाट मौन बनाएर मतदातालाई स्वस्फूर्त निर्णय गर्ने अधिकारको सुनिश्चितता गर्न गराउन अनुरोध गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्था, आचारसंहिताको परिपालना र कार्यान्वयनबारे भएको छलफलमा उनले यस्तो बताए । सो छलफलमा सुरक्षालाई भरपर्दो र प्रभावकारी बनाइएको बताउँदै ढुक्क भएर मतदान गर्न भण्डारीले आग्रह गरेका छन् ।  सोही छलफलपछि गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि सबै सुरक्षा संयन्त्र र सरोकारवाला निकायबीचको समन्वय भइसकेकाले भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने बताए ।  

निर्वाचन सफल पार्ने साझा दायित्व –राष्ट्रपति 

राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचलाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु सबैको साझा दायित्व भएको बताएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई अझ विश्वस्त र परिपक्व बनाउने विश्वास व्यक्त गरे । ‘सबै मिलेर लोकतन्त्रको रक्षा, सामाजिक न्यायको प्रवद्र्धन र विकासको यात्रालाई अझ सुदृढ बनाउने सङ्कल्पका साथ यस ऐतिहासिक निर्वाचनमा सहभागी बनौँ’, उनले भनेका छन, ‘मतभिन्नता स्वाभाविक भए पनि सहिष्णुता, मर्यादा र विधिको शासनप्रति सम्मान हाम्रो साझा मूल्य हुनुपर्दछ ।’

निर्वाचन पछिल्ला उपलब्धिको रक्षा र प्रवद्र्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन आवश्यकता भएको उल्लेख गरे । निर्वाचनले नै विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढङ्गले परिभाषित गर्दै नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिपति पौडेलले भनेका छन्, ‘निर्वाचन हाम्रो राजनीतिक इतिहासको एक जटिल परिस्थितिको निकासका रूपमा हुन गइरहेको छ । यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर हो । त्यसैले यो निर्वाचनलाई सफल बनाउनु हाम्रो साझा काम र ऐतिहासिक दायित्व हो ।’

सुशासन, सामाजिक न्याय, उत्तरदायी शासन र सेवा प्रवाहका क्षेत्रमा अझ धेरै काम गनुपर्ने आश्यकता औँल्याउँदै राष्ट्रपति पौडेलले आगामी निर्वाचनले त्यही भावधारालाई संस्थागत गर्दै लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सञ्चारमाध्यम र सम्बन्धित निकायलाई निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पूर्ण प्रतिबद्ध रहन आग्रह गरे । ‘नयाँ संविधानमार्फत समावेशी राज्य संरचना सुनिश्चित भएको छ,’ उनले भने, ‘यस निर्वाचनले निरङ्कुशताविरुद्ध लामो सङ्घर्ष र बलिदान गरेको अघिल्ला पुस्ता र त्यसमा आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको सपना, नवयुवाहरूको सुशासनको माग, पारदर्शिता र जवाफदेहिताप्रतिको अपेक्षा पूरा गर्नेछ ।’ 

सम्बन्धित खबर