सौरभ यादव/मध्यान्ह
राजविराज, १४ जेठ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी एक महिलामाथि निर्घात कुटपिट भएको छ । छिमेकीको कुटाइबाट गर्भ खेर गएपछि वडा नम्बर ४ की २२ वर्षीया राजुदेवी मण्डल न्याय माग्दै सदरमुकाम राजविराज आइपुगेकी छिन् ।
सञ्चारकर्मीसमक्ष उनले छिमेकी हरिहर मण्डल, उनका छोराहरु श्रीराम मण्डल र शिवशंकर मण्डलले घरभित्र पसेर कुटपिट गरेको र कुटपिटबाट आफ्नो पाँच हप्ताको गर्भ खेर गएको बताइन् ।
‘जेठ ९ गते दिउँसोको श्रीमान बाख्रा चराउन गएका थिए, बाख्रा चाराउने ठाउँमा हरिहरले पालेको कुकुरलाई कुटेका थिए’ उनले भनिन् ‘सोही विषयलाई लिएर दिउँसो ३ बजे बावुछोरा मिलेर घरमै पसेर अन्धाधुन्ध कुट्न थाले । उनीहरुले लछारपछार गर्दै कुटे ।’
कुटपिटबाट आफ्नो पेटमा गम्भीर चोट लागेको उनले दुखेसो गरिन् । ‘मलाई लात्ति र मुड्कीले जथाभावी हान्न थाले । कुटाइबाट मेरो पेटमा गम्भीर चोट लागेर रक्तश्राव हुन थाल्यो’ उनले भनिन् ‘घटनाको दोस्रो दिन (जेठ १० गते) जाँच गराउदा गर्भ खेर गएको चिकित्सकले पुष्टि गर्नुभयो ।’
घटना बारे प्रहरीमा पनि जानकारी गराइसकेको बताउँदै उनले वडाका जनप्रतिनिधिहरुले घटनामा मिल्न दबाब दिएपछि आफू थप पीडित हुन पुगेको गुनासो गरिन् । ‘एकातिर जनप्रतिनिधिहरुले मिल्न दबाब दिँदै आइरहेका छन् भने अर्कोतिर पीडकहरु पनि धाकधम्की दिइरहेकाले आफू र आफ्ना परिवारका सदस्यमाथि थप तनाव थपिएको छ’ उनले भनिन् ‘बाध्य भएर न्यायको गुहार गर्दै चौतर्फी भौतारिनु परेको छ ।’ उनले न्यायका लागि संचारकर्मी, मानव अधिकारकर्मी, स्थानीय प्रशासन लगायतलाई सहयोगको लागि आग्रह गरिन् ।
यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले घटना बारे बुझ्ने कार्य भइरहेको बताए । ‘पीडित पक्षबाट जाहेरी आएको छ वा छैन भनेर बुझ्दैछु’ उनले भने ‘त्यस्तो छ भने हामी कानून अनुसार अघि बढ्छौं ।’
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies