
काठमाडौंः निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ का लागि गर्नुपर्ने सम्पूर्ण तयारीहरु पूरा गरेको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईकाअनुसार केन्द्रिय तहमा हुनुपर्ने सम्पूर्ण तयारीहरु सम्पन्न भइसकेका छन् ।
आयोगको टोली माघ २ गतेदेखि नै सबै निर्वाचन क्षेत्रमा पुगेर मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको कार्यालय स्थापना गरिसकेको बताए । पछिल्लो जानकारीअनुसार निर्वाचन आयोगका कर्मचारी तथा सुरक्षाकर्मीहरु देशभरका २३ हजार १ सय १२ वटै मतदान केन्द्रमा पुगिसकेका छन् । मतदान केन्द्रमा पुगेका मतदान अधिकृतहरुले सूचना टाँस गर्नेदेखि लिएर आवश्यक सबै प्रशासनिक तयारीहरु गरिरहेका छन् । स्थानीय स्तरमा राजनीतिक दलहरु र उम्मेदवारहरुसँग सर्वदलीय बैठक बसेर मतदानको विषयमा साझा बुझाइ तयार गर्ने काम भइरहेको बताए ।
मतदान केन्द्रको बुथ निर्माण कार्य सम्पन्न भइसकेपछि तोकिएको समयमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान कार्य सञ्चालन हुनेछ । मतदानको समयमा जिल्ला तह, निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा आउन सक्ने कुनैपनि समस्यालाई तत्काल सम्बोधन गर्न आयोगले आवश्यक सहजीकरण गरिरहेको प्रवक्ता भट्टराईले जानकारी दिए । सम्पूर्ण जनशक्ति र सामाग्रीहरु मतदान केन्द्रमा पुगिसकेको र कार्यविभाजन समेत भइसकेकोले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको उनले बताए ।