२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

shivam cement
२०८२ फागुन २० गते १२:२७
Shares
‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’

काठमाडौं : काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् । बिहानैदेखि सवारीसाधन कुर्दा पनि टिकट नपाएको र ‘रिजर्भ’ गाडीले सर्वसाधारण नबोकेको उनीहरूले गुनासो गरेका हुन् । 

ओखलढुंगाका कुलबहादुर थापाले विद्यालयमा कार्यरत रहेकाले ढिलो बिदा पाएको र व्यक्तिगत सवारी साधन नभएकाले सार्वजनिक यातायातकै भर पर्नुपरेको बताए । उनले बुधवार बिहानैबाट ओखलढुंगा जान गाडी कुरे पनि नपाएको बताए । उनकाअनुसार अधिकांश गाडीमा ‘रिजर्भ’ लेखिएको छ र ती गाडीले सर्वसाधारण बोक्न मानेका छैनन् । बस काउन्टरमा जाँदा दल र उनीहरूका नेतासँग सम्पर्क गर्नुस्, टिकट पाइँदैन भनेर आफूलाई पठाएको र अब भोट हाल्न जान नपाइने अवस्था आएको थापाले गुनासो गरे ।

सर्वसाधरण थापाले भने– ‘म एउटा स्कुलमा जागिर गर्छु । त्यो स्कुलले हिजोसम्म पनि बिदा दिएन । मेरो व्यक्तिगत साधन छैन । ओखलढुंगाका लागि आज २० गतेसम्म गाडीहरू पाइन्छन् भने सार्वजनिक यातायात चढेर भोट हाल्न घर जान खोजेको गाडी नै पाइएन । बिहान ४ बजेदेखि गाडी कुरेको अहिलेसम्मपनि गाडी पाइन । गाडीहरू रिजर्भ बाहेक केही लेखेको छैन । रिजर्भ गाडीहरूले हामीहरूलाई लगेनन् । बस काउन्टरमा जाँदा दल र उनीहरूका नेताहरू सम्पर्क गर्नुस् टिकट पाइँदैन भने । अब भोट हाल्न जान नपाइने भयो ।’

कास्कीका दिलिप महतले पनि राजनीतिक दलहरूले आफ्ना समर्थकलाई प्राथमिकता दिएर गाडी रिजर्भ गरेर लैजाँदा समस्या भइरहेको बताए  । उनकाअनुसार त्यसरी भोट हाल्न जानेहरूले पनि धेरै दुःख पाइरहेका छन् । दलहरूले सबैजसो गाडी रिजर्भ गर्दा भोटलिस्टमा नाम भएका आफ्ना पार्टीका मान्छेलाई मात्रै गाडी पठाएर लगिरहेको उनले बताए । उनकाअनुसार सर्वसाधारणले सवारी नपाउँदा कतिपय मतदाता मतदानबाट वञ्चित हुने अवस्था देखिएको छ ।

महतले भने–‘हिजोआज उपात्यका छाड्नेहरू धेरै दुःखले भोट हाल्न गएका छन् । भोटलिस्टमा नाम भएका आफ्ना पार्टीका मान्छेहरूलाई मात्रै दलहरूले लिएर गएका छन् । आफ्ना पार्टीका मान्छेलाई मात्रै दलहरूले गाडी पठाएर लगिरहेका छन् । धेरै सर्वसाधरणले भोट हाल्न जान सबारी नै पाएका छैनन् । जसकारण कतिपय भोट हाल्न जान नपाउने अवस्था छ ।’

रामेछापका कुमार बस्नेतले भने सिट नपाएपनि गाडी भने पाइएको बताए । राजनीतिक दलका नेताहरूले रिजर्भका गाडीमा जानुपर्छ भने पनि आफूले अस्वीकार गरेको बताए । बिना टिकट पनि गाडी पाइएको र आफू भोट हाल्न गाउँ जान लागेको उनले सुनाए । 

बस्नेतले भने–‘मैले भोट हाल्न घर जानका लागि टिकट काटेको थिइन । पार्टीहरूले हाम्रा गाडीहरूमा जानुपर्छ भनेका थिए तर म गइन । तर बिना टिकट पनि गाडी पाएँ । भोट हाल्न घर जाँदैछु ।’ 

सरोकारवालाहरूकाअनुसार निर्वाचनको मुखैमा सार्वजनिक यातायात व्यवस्थापन र दलहरूको संलग्नताबारे उठेका यी गुनासोप्रति सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिएको छ । सर्वसाधारण मतदाताले सहज रूपमा मतदान केन्द्रसम्म पुग्न पाउने अधिकार सुनिश्चित गर्न यातायात व्यवस्थापन पारदर्शी हुन जरुरी छ ।

सम्बन्धित खबर