
काठमाडौँ : प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा रामेछापमा दुई राजनीतिक दलबीच चुनावी सहकार्यको समझदारी भएको छ ।
नेपाली कांग्रेस र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच भएको सहमतिअनुसार प्रत्यक्षतर्फको प्रतिस्पर्धामा समर्थन आदान-प्रदान गर्ने निर्णय गरिएको हो ।
सम्झदारीपत्रमा उल्लेख भएअनुसार प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रत्यक्ष निर्वाचनतर्फ आफ्नो उम्मेदवारी निष्क्रिय पारेर कांग्रेसका उम्मेदवारलाई सहयोग गर्नेछ । यद्यपि समानुपातिक निर्वाचन प्रणालीतर्फ भने दुवै दलले आ-आफ्नो चुनाव चिन्हमा मत माग्ने सहमति गरेका छन् ।
सहमतिपछि प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार विरेन्द्र श्रेष्ठले कांग्रेसका रामचन्द्र खड्कालाई साथ दिने जनाइएको छ । सो निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का माधव ढुंगेल, नेपाल कम्युनिष्ट पार्टीका श्यामकुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. कृष्णहरी बुढाथोकी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका गोरे तामाङलगायत अन्य उम्मेदवार प्रतिस्पर्धामा छन् ।
दलहरूबीचको उक्त सहकार्यले निर्वाचन प्रतिस्पर्धाको समीकरणमा प्रभाव पार्ने आकलन गरिएको छ ।