२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

मध्यपूर्व तनावले लिग–२ को सिरिज स्थगित

shivam cement
२०८२ फागुन २० गते १६:२४
Shares
मध्यपूर्व तनावले लिग–२ को सिरिज स्थगित

काठमाडौं : आगामी सातादेखि काठमाडौंमा सुरु हुने तय भएको आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ । मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिका कारण प्रतियोगिता तत्कालका लागि रोकिएको नेपाल क्रिकेट संघ (क्यान)ले आधिकारिक रूपमा जनाएको छ ।

क्यानले बुधबार विज्ञप्ति जारी गर्दै मार्च १० देखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने भनिएको सिरिज अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो । सिरिजमा आयोजक नेपालसँगै ओमान र युएईले प्रतिस्पर्धा गर्ने तालिका थियो ।

मध्यपूर्व क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण त्यहाँका विभिन्न हवाई मार्गहरू प्रभावित बनेका छन् । अन्तर्राष्ट्रिय उडानहरू नियमित रूपमा सञ्चालन हुन नसक्दा ओमान र युएईका टोली निर्धारित समयमै नेपाल आइपुग्ने विषय अन्योलमा परेको थियो ।

सिरिजका लागि दुवै टोली शुक्रबारसम्म काठमाडौं आइपुग्ने तालिका भए पनि हवाई सेवा प्रभावित भएपछि यात्रा व्यवस्थापनमा कठिनाइ उत्पन्न भएको क्यान स्रोतले जनाएको छ । यही परिस्थितिलाई ध्यानमा राख्दै प्रतियोगिता स्थगित गर्ने निर्णय गरिएको हो ।

क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको सूचनामा भनिएको छ, ‘मध्यपूर्वको वर्तमान अवस्थालाई मध्यनजर गर्दै काठमाडौंमा मार्च १० देखि सुरु हुने भनिएका सिडब्ल्युसी लिग–२ का खेलहरू थप सूचना नआएसम्मका लागि स्थगित गरिएका छन् । ओमान, युएई र नेपालसँग सम्बन्धित खेलहरू प्रभावित भएका छन् । सम्बन्धित निकायहरूसँग परामर्शपछि नयाँ मिति सार्वजनिक गरिनेछ ।’

स्थगित भएका खेलहरूको नयाँ मिति तत्काल तय गरिएको छैन । क्यानले आइसिसी र सम्बन्धित देशका क्रिकेट बोर्डहरूसँग छलफल गरी उपयुक्त समयमा संशोधित तालिका सार्वजनिक गर्ने जनाएको छ ।

सिरिज स्थगनसँगै तीनवटै टोलीको तयारी तालिका प्रभावित भएको छ । विशेषगरी घरेलु मैदानमा महत्वपूर्ण अंक बटुल्ने लक्ष्य राखेको नेपालका लागि यो स्थगन रणनीतिक रूपमा संवेदनशील मानिएको छ ।

सिरिजलाई लक्षित गर्दै नेपालले २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेको थियो । टोली हाल बन्द प्रशिक्षणमा व्यस्त रहेको थियो । घरेलु समर्थकको साथमा लिग–२ मा सुधारिएको प्रदर्शन गर्ने अपेक्षा गरिएको थियो ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अंक तालिकामा नेपाल हाल २० खेलबाट १२ अंक जोडेर सातौं स्थानमा छ । पुछारमा रहेको युएईको १० अंक छ भने ओमान २४ अंकसहित चौथो स्थानमा छ ।

घरेलु सिरिज नेपालका लागि अंक तालिकामा उक्लने महत्वपूर्ण अवसरका रूपमा हेरिएको थियो । तर अन्तर्राष्ट्रिय परिस्थिति प्रत्यक्ष रूपमा खेल तालिकामा असर पुर्‍याएपछि प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको हो ।

त्रिवि क्रिकेट मैदानमा हुने अन्तर्राष्ट्रिय खेलप्रति नेपाली समर्थक सदैव उत्साहित रहँदै आएका छन् । टिकट बिक्री, प्रायोजन र प्रसारण तयारीसमेत अगाडि बढिरहेको अवस्थामा सिरिज स्थगित हुँदा क्रिकेट समर्थकमाझ निराशा छाएको छ ।

यद्यपि, क्यानले खेलाडीको सुरक्षा र अन्तर्राष्ट्रिय समन्वयलाई प्राथमिकता दिँदै निर्णय लिइएको स्पष्ट पारेको छ । अब सम्बन्धित पक्षबीचको परामर्शपछि मात्र सिरिजको नयाँ मिति र तालिका सार्वजनिक हुनेछ ।

सम्बन्धित खबर