२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

इपिसेन्टर झापा–५, तत्काल एक्सनमा जाने गरी बाक्लो सुुरक्षा

shivam cement
२०८२ फागुन २१ गते ०६:३०
Shares
इपिसेन्टर झापा–५, तत्काल एक्सनमा जाने गरी बाक्लो सुुरक्षा

काठमाडौं : देशका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये मुलुुकलाई निर्वाचनसम्म ल्याइ पु¥याउने पछिल्लो राजनीतिक घटनासम्बद्ध दुुई प्रमुख पात्र प्रतिस्पर्धीे झापा क्षेत्र नम्बर ५ मा सर्वाधिक सुरक्षा सतर्कता अपनाइएको छ । सो क्षेत्रमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरका पुुर्वप्रमुख बालेन्द्र शाहबिच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।   

देशी विदेशी चासो र सुुरक्षाका दृष्टिले समेत ‘अति संवेदनशील क्षेत्र’मा वर्गिकरण गरिएको झापा ५ अहिले निर्वाचनको इपिसेन्टर सरह बन्न पुुगेको छ । जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख बसुन्धरा खड्काका अनुसार, उक्त निर्वाचन क्षेत्रमा प्रहरीका एसएसपी, एसीपीलगायत उच्च सुरक्षा अधिकारी खटिएका छन् । ‘अहिले सबैको ध्यान खिच्ने क्षेत्र भएकाले यसलाई अति संवेदनशील क्षेत्रको रूपमा वर्गीकरण गरेका छौं र सोहीअनुसार सुरक्षा रणनीति बनाइएको छ’, उनले भनिन् । 

यस पटक झापा ५ मा २ सय ५० भन्दा बढी सैनिक परिचालन गरिएको छ । सैनिक टोलीलाई प्लाटुन अपरेटिङ बेस (पीओबी) मा वर्गिकरण गर्र्दै प्रत्येक पिओबीमा लप्टनको कमाण्डमा ३५ जना सैनिक खटाइएको छ । यसका साथै सेनाले दमकमा आफ्नै हेलिप्याड निर्माण गरी हवाई गस्तीसमेत सुरु गरेको छ । जमीनमा सुरक्षाका लागि चारवटा बख्तरबन्ध गाडीसहित विशेष फौज परिचालन गरिएको छ । सुरक्षा बेसहरूमा बम डिस्पोजल टोलीलाई ‘हाई अलर्ट’ मा राखिएको छ। निर्वाचनका बेला हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सेनाले विद्यालयका विद्यार्थीका लागि ‘माइन रिक्स एजुकेशन’ कक्षा समेत सञ्चालन गरेको छ।

कुनै पनि संकास्पद पदार्थ भेटिएमा कसरी सुरक्षित रहने र सुरक्षा निकायलाई कसरी खबर गर्ने भन्ने बारे विद्यालयका विद्यार्थी तहसम्म  सचेत गराइएको छ । यद्यपी ‘सुुरक्षा दृष्टिकोणको हिसावले सबै कुरा खुलाउन नमिल्ने’ बताउँदै उनले सादा पोशाक र पोशाकमा समेत बाक्लोरुपमा प्रहरी परिचालन गरिएको जानकारी दिइन् । यहाँ प्रहरीले ‘पर्ख र हेर’ को अवस्थामा नभई तत्काल ‘एक्सन’ मा जाने गरी आदेश लिइसकेको समेत उनले बताईन् । 

निर्वाचन प्रचारका दिन र मौन अवधि सुरु भए पछिको समय छिटपुट घटना मात्र भएको यो क्षेत्रमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न यथासम्भव मेहेनत गरिएको पनि उनले बताईन् । क्षेत्रमा काठमाडौं महानगरका मेयरका रूपमा उदाएका बालेन परिवर्तनको नारासहित मैदानमा छन् भने सार्वजनिक राजनीतिको सुुरुवात देखि नै यस क्षेत्रबाट विजयी हुँदै आएका र त्यहीँबाट पटक पटक मुलुकको कार्यकारी प्रमुख बनेका ओलीका झापा ५ सर्वाधिक सुरक्षित निर्वाचन क्षेत्र मानिन्छ । दुवै उच्च–प्रोफाइल प्रतिद्वन्द्वीको प्रतिष्ठाको क्षेत्र मात्र नभई  खुला सीमानाका कारण पनि सुरक्षा निकायले झापा–५ लाई संवेदनशील क्षेत्रको सूचीमा राखिएको थियो । त्यसैले  यहाँका  मतदान केन्द्रहरूमा विशेष सुरक्षा योजना लागू गरिएको र आवश्यक परे सेना समेत तयारी अवस्थामा रहेको प्रहरी प्रमुख खड्का बताउँछिन् । 

त्यसो त क्षेत्र नम्बर ५ मा झापा जिल्लाकै सर्वाधिक मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नं ५ का निर्वाचन अधिकृत विदुरकुमार कार्कीका अनुसार १ लाख ६३ हजार ३ सय ७९ जना मतदाता छन् । ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ र दुई जना तेस्रो लिंगी छन् । 

‘निर्वाचनको लागि ६१ वटा मतदानस्थल र १८५ वटा मतदान केन्द्र रहेका छन्’ कार्कीले भने, ‘निर्वाचन सम्पन्न गर्नको लागि १ सय १३ जना निर्वाचन कर्मचारी खटिएका छन् ।’

झापा–५ को मतगणना निर्वाचन अधिकृतको कार्यालय रहेको दमकको अग्र्यानिक कृषि भवनमा हुने भएको छ । मतदान सम्पन्न भइसकेपछि झापा–५ का ६१ वटा मतदानस्थलका मतपेटिका गणनाका लागि उक्त भवनमा लगिनेछ । मतगणनाका लागि मतगणनास्थलको तयारी भइसकेको उनले बताए । 

सेनाको प्रत्यक्ष संलग्नतामा मतगणना स्थलको व्यवस्थापन गरिएको छ । मतपेटिका ढुवानीका क्रममा सेनाले नछोइकन केवल ‘स्कर्टिङ र पिकेटिङ’ मार्फत सुरक्षा प्रदान गर्नेछ। दमकको अग्र्यानिक कृषि भवनमा हुने मतगणना स्थलमा अन्तिम नतिजा नआएसम्म सेनाले चौबीसै घण्टा पहरा दिने योजना बनाएको छ।

 मतगणना विथोल्न नसक्ने गरी मतगणनास्थलको व्यवस्थापन गरिएको छ । तार जालीको घेरा भित्र कर्मचारीले मतगणना गर्ने हुँदा उम्मेदवारका प्रतिनिधिले मत पत्र छुन पाउँदैनन्,  हेर्न मात्र सक्छन् । अन्य मतगणनास्थलमा जस्तै त्यहाँ पनि सिसिटिभि जडान गरिएको छ । 

सेनाले समेत अन्तिम मत परिणाम नआइन्जेलसम्म मतगणना स्थलको पहरा दिनेछन् । निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन नेपाली सेनाको चारआलीस्थित अरिदमन गणका सेनानी सुरेन्द्र योगीको कमाण्डमा पीओबी टोलीहरु खटाइएका छन् ।  यस अन्तर्गत दमक, गौरादह, तोपगाछी र गौरीगञ्जमा चारवटा पीओबीहरू स्थापना गरिएका छन्। 

सम्बन्धित खबर