२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

प्रतिनिधिसभा निर्वाचन आज, प्रत्यक्षतर्फ गणना सुरु भएको २४ घण्टाभित्रै नतिजा

shivam cement
२०८२ फागुन २१ गते ०६:३५
Shares
प्रतिनिधिसभा निर्वाचन आज, प्रत्यक्षतर्फ गणना सुरु भएको २४ घण्टाभित्रै नतिजा

काठमाडौं : आफूले रोजेको जनप्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनअधिकारको मुख्य अभ्यास मानिएको प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत बिहीबार देशभर मतदान हुँदैछ । यो निर्वाचन देशको लोकतान्त्रिक प्रणाली अन्तर्गत नवौं र वर्तमान संविधान जारी भएपछिको तेस्रो प्रतिनिधि सभा सदस्य निर्वाचन हो । 

मतदानको पुर्वसन्ध्यामा बुधबार निर्वाचन आयोगद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा  देशका १ सय ५६ वटै निर्वाचन क्षेत्रअन्तर्गतका १० हजार ९ सय ६७ निर्वाचनस्थलका २३ हजार १ सय १२ मतदान केन्द्रमा बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने जानकारी दिइयो । 

निर्वाचनमा देशभर गरी कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाताले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक प्रणालीका लागि मताधिकार प्रयोग गर्न पाउने छन् । जसमध्ये ९६ लाख ६३ हजार ३ सय ५८ जना पुरुष र ९२ लाख ४० हजार १ सय ३१ जना महिला रहेका छन् । निर्वाचनबाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिक तर्फ १ सय १० गरी कुल २ सय ७५ जना सदस्य निर्वाचित हुनेछन् 

निर्वाचनमा यसपटक प्रत्यक्षतर्फ कुल १ एक सय ६५ निर्वाचन क्षेत्रमा ६५ राजनीतिक दलका २ हजार २ सय ६३ र १ हजार १ सय ४३ वना स्वतन्त्र गरी कुल ३ हजार ४ हजार ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमध्ये ३ हजार १७ जना पुरुष र ३ सय ८८ जना महिला उम्मेदवार छन् । अन्यबाट समेत १ जनाको उम्मेदवारी परेको छ । समानुपातिकतर्फ भने कुल ६३ दलबाट ३ हजार १ सय ३५ जनाको उम्मेदवारी छ । 

पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपेटिका, मत पत्र लगायतका आवश्यक निर्वाचन सामग्रीहरु सबै निर्वाचन केन्द्र पु्र्याइसकिएको बताए  । ‘सबै निर्वाचन क्षेत्रमा मतदाताको लाइन अपांग, महिला र जेष्ठ नागरिकका लागि विशेष व्यवस्था लगायतका सबै अन्तिम तयारी पूरा भइसकेका छन्’, उनको भनाई थियो । मतदाताले शान्तिपूूर्वक आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न पाउने गरी भरपर्दो सुरक्षा व्यवस्था गरिसकिएको जानकारी पनि उनले दिए । निर्भयपूर्वक मतदानका लागि विशेष अपिल गर्दै भण्डारीले आसन्न निर्वाचन भदौ २३ र २४ गते भएको नवयुवाहरूको विद्रोहपछि विकसित विषम परिस्थितिमा सम्पन्न हुन गइरहेको यो आकस्मिक प्रतिनिधि सभा सदस्य निर्वाचन भएको उल्लेख गरे ।  ‘यसले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझै सुदृढ एवं परिपक्व बनाउने विश्वास मैले लिएको छु’ उनको भनाई छ । 

दुर्गममा हेलिकप्टरबाट मतपेटिका पुर्‍याइयो, संकलन पनि हेलीबाटै 

आयोगका सचिव कृष्ण बहादुर राउतले अत्यन्त विकट मानिएका डोल्पा जिल्लाका २३ र हुम्ला जिल्लाका ४ वटा निर्वाचन क्षेत्रमा हेलीकप्टरबाट मत पेटिका र मतपत्र लगायतका सामग्री पुर्याइएको जानकारी दिए । 

मतदान सम्पन्न भइसकेपछि पनि देशका विभिन्न १५ जिल्लाका ६१ वटा दुर्गम स्थानबाट मतपेटिका संकलन गर्न हेलिकप्टरकै प्रयोग गरिने जानकारी उनले दिए ।

‘हुम्ला र डोल्पा जिल्लाको जम्मा २३ वटा डोल्पाको र ४ वटा हुम्लाको गरेर २७ वटा स्थानमा हेलिकप्टरबाटै मतपत्र र ब्यालेटदेखि लिएर कर्मचारी र सुरक्षाकर्मीहरू पठायौं । त्यसमा अब १५ अरु थप १५ जिल्लाहरूको ६१ स्थानबाट यो मतदान केन्द्र धेरै हुन्छन् तर ६१ स्थानबाट ताप्लेजुङ्गदेखि दार्चुलासम्मका ६१ स्थानबाट यो मतदान पछाडिको ब्यालेट बक्सहरू हेलिकप्टरबाट संकलन हुन्छ,’ उनले थपे । सम्बन्धित प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ७७ वटै जिल्लाका निर्वाचन क्षेत्रमा मतपेटिका ढुवानीको व्यवस्था मिलाइ सकिएको जानकारी पनि उनले दिए । 

३ हजार ६ सय ८० मतदान केन्द्र अति संवेदनशिल, सेना बाहिरी घेरामा मात्रै

मतदान स्थलमा अघिल्ला निर्वाचन जस्तै एकिकृत सुरक्षा योजना अपनाइएकोले ‘सेनाले नै मतपेटिका ओसार्ने’ भन्ने जस्ता समाचार आधार हिन भएको पनि प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए । ‘विगतमा जस्तै मतदान स्थलको सबै भन्दा बाहिरी घेरामा मात्र नेपाली सेना रहन्छ । त्यसपछि सशस्त्र बल र केन्द्रमा नेपाल प्रहरीले सुरक्षा गर्छ ’, उनले थपे।  आयोगका सचिव कृष्णबहादुर राउतले अघिल्ला निर्वाचनको अनुभव र अहिलेको सुरक्षा विश्लेषणका आधारमा ३ हजार ६ सय ८० मतदान केन्द्र अतिसंवेदनशिल, ४ हजार ४ सय ४२ वटा संवेदनशिल र २ हजार ८ सय ४५ सामान्य संवेदनशिल केन्द्रका रुपमा विश्लेषण गरी सुरक्षाको व्यवस्थापन गरिएको जानकारी दिए । 

मिथ्या समाचार रोक्न टिकटकसँग एमओयू र मेटासँग सहकार्य

सम्मेलनमा निर्वाचनका सन्दर्भमा आम सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत आउने अफवाह पूर्ण समाचार तथा सूचना नियन्त्रणका लागि प्रेस काउन्सिल, नेपाल दुरसुञ्चार प्राधिकरण र नेपाल प्रहरीको साइबर ब्यूरोको विशेष सहयोग लिइएको जानकारी पनि सचिव राउतले दिए । 

यसै गरी सामाजिक सञ्जालमा हुने गलत सम्प्रेषण रोक्न टिकटकसँग सम्झौता(एमओयु) नै गरिएको र मेटासँग पनि सहकार्य गरिएको जानकारी पनि राउतले दिए । ‘टिकटकले सुरु देखिनै सहयोग गरेको थियो भने मेटाले पछिल्लो समय भोटर्स इन्फर्मेसन युनिट नै खोलेर यो काममा सघाएको छ’, उनले बताए । 

गणना सुरु भएको २४ घण्टामै नतिजा 

पत्रकार सम्मेलनमा मत पेटिका संकलन सकेसम्म छिटो मतगणना स्थलमा ल्याउन हरसम्भव प्रयास गरिएको जानकारी समेत दिइयो । 

त्यसका लागि विकट मतदान केन्द्रबाट हेलिकप्टरमा मतपेटिका ल्याउने व्यवस्था मिलाएको बताउँदै कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रत्यक्षतर्फ मतगणना सुरु भएको २४ घण्टा भित्र परिणाम सार्वजनिक गरिने बताए । विशेष परिस्थितिमा भएको निर्वाचन भएकोले अघिक सक्रियता आवश्यक भएकोमा आयोग सचेत रहेको भनाई पनि उनको थियो ।

मतदान पछि मतपेटिकामा सबै उम्मेदवारको चिन्ह अंकित लाह छाप लाग्ने बताउँदै उनले त्यसपछि सेनाले ल्याउने नभई दुर्गम स्थानका मतपेटिका गणनास्थलमा ल्याउन चाहीँ सेनाको हेली कप्टर प्रयोग गर्न खोजिएको भनाइ उनको थियो । ‘सेनाको हेलीकप्टर सेवा विश्वनीय भएकोले यसो गर्न लागिएको हो’, उनले थपे । त्यसैगरी समानुपातिक प्रणालीतर्फको मतगणना समेत सँगसँगै गरिने भएकोले त्यसको पनि छिटै परिणाम आउने भण्डारीले बताए । 

‘यथार्थ लुकाउँदा उम्मेदवारी खारेज’

निर्वाचनको पुर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा क्षेत्र न. १ का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको बारे सञ्चारकर्मीको प्रश्नमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उम्मेदवारी मनोनयनकै बेला उम्मेदवारले आफ्नो सबै तथ्यगत विवरण स्वघोषणाका रुपमा निर्वाचन अधिकृतसमक्ष नगरेका कारण समस्या आएको बताए । ‘कुनै उम्मेदवारले सत्य ब्यहोर लुकाएर लेखिदिनु भयो भने त्यो छानबिनको विषय बन्न भनेकै थियौं । अहिल उहाँको विरुद्ध उजुरी परेपछि छानबिन गर्नै पर्ने भयो’, उनले भने । सम्बन्धित निकायमा पत्र आदन प्रदान गर्दा रास्वपा उम्मेदवार साह २०७९ साल देखि नै कर्जा प्रवाह गर्ने निकायहरुको कालो सूचिमा रहेको पाइएको जानकारी पनि उनले दिए । कारबाही अघि साहलाई सफाई तथा कालोसूचिमा नभएको प्रमाण पेश गर्ने समय दिइएको उनले बताए ।

निर्वाचनका लागि विश्वव्यापी प्रचलन अनुसार अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई आमन्त्रण गरिएको र निर्वाचनको पुर्व सन्द्यामा सम्बन्धित सबै जानकारी गराइएको समेत कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले दिए । मतदानका दिन उनीहरुले पर्यवेक्षण गर्ने र निर्वाचन स्वच्छ र स्वतन्त्र भए नभएको प्रतिवेदन उनीहरुले दिने जानकारी पनि उनले दिए । 

नगदी कारोबारमा सून्य सहनशिलता 

भण्डारीले निर्वाचन आचार संहिता तथा निर्वाचन कसुर तथा सजायँ सम्बन्धी ऐन उलंघन गरेका कारण केही उम्मेदवार तथा तिनका सहयोगी पक्राउ परेको बताए । निर्वाचन कानुन तोड्नेलाई क्षेत्राधिकार अनुसार आयोग, स्थानीय प्रशासन र अदालती कारबाही समेत हुने भनाइ प्रमुख आयुक्तको थियो । ‘नगदी कारोबारको विषयमा भने आयोगले सून्य सहनशीलता अपनाएको छ’, उनको भनाइ थियो । 

सम्बन्धित खबर