
नुवाकोट : नुवाकोटको तारकेश्वर गाउँपालिका–६ मा निर्वाचनको मौन अवधि सुरु भइसकेको अवस्थामा आचारसंहिता विपरित प्रचार गरेको आरोपमा नेकपा एमालेका वडा अध्यक्ष गोपी रिमाल (रामेश्वर रिमाल)पक्राउ परेका छन् । स्थानीयले नियन्त्रणमा लिइ रिमालललाई प्रहरी समक्ष बुझाएको घटना सार्वजनिक भएको हो ।
स्थानीयका अनुसार बुधबार साँझ करिब ६ बजेतिर तारकेश्वर–६ को डाँडाखर्क, डाँडे गाउँ क्षेत्रमा मतदातालाई प्रभावित पार्ने उद्देश्यले प्रचार गतिविधि गरिएको भन्दै विवाद उत्पन्न भएको थियो । सो क्रममा केही सामान्य हातपात समेत भएको बताइएको छ ।
उक्त घटनापछि स्थानीय युवा समूह तथा हिमालचुली युवा क्लबका सदस्यहरूले रिमाललाई नियन्त्रणमा लिइ प्रहरीलाई खबर गरेका थिए । पछि उनलाई प्रहरीको जिम्मा लगाइएको जनाइएको छ ।
स्थानीय बासिन्दाहरूले मौन अवधिमा गाउँमा यस प्रकारको गतिविधि हुनु आचारसंहिता विपरीत भएको बताएका छन् । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।