
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अहिले मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन् । रास्वपा बरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौं सिनामंगलबाट मतदान गरेका छन् । त्यस्तै, नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङबाट मतदान गरेका छन् ।
मतदाताहरुले आज अपराह्न ५ बजेसम्म मतदान गर्न पाउनेछन् । निर्वाचन आयोगले मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र, राहदानी र लालपूर्जा देखाएर मतदान गर्न पाइने जनाएको छ । मतदानमा महिला र पुरुषको छुट्टाछुट्टै लाइन हुनेछ । अपांगता भएका, अशक्त, वृद्धवृद्धा, बिरामी, सुत्केरी, गर्भवतीहरुलाई लाइनमा बस्न नपर्ने विशेष सुविधा हुनेछ । निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ ।
३ हजार ६८० वटा अति संवेदनशील मतदान केन्द्र छन् । मदतान केन्द्रलाई ४ हजार ४४२ वटा संवेदनशील मतदान केन्द्र र २ हजार ८४५ सामान्य मतदान केन्द्र भनेर वर्गीकरण गरिएको छ । १४३ अस्थायी मतदानस्थल तय गरिएको छ ।
निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् । निर्वाचनमा दुई लाख १५ हजार सरकारी कर्मचारी खटिएका छन् ।