
दोहा कतार : कतारको गृह मन्त्रालयका अनुसार अमेरिकी दूतावास नजिकका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
मन्त्रालयले दोहास्थित अमेरिकी दूतावास नजिक बस्ने बासिन्दाहरूलाई सुरक्षा सावधानीका रूपमा त्यहाँबाट सुरक्षित स्थानमा सारिएको पुष्टि गरेको हो ।
यसै साता इरानले अमेरिकन एम्बेसी रियादमा निशाना बनाएको थियो भने दुबईको कन्सुलेट नजिकको पार्किङ क्षेत्रमा पनि आक्रमण गरेको थियो ।
यस घटनापछि अमेरिकन दूतावास कुवेत, साउदी स्थित रियाद र लेबनानले अस्थायी रूपमा सेवा बन्द गर्ने घोषणा गरी सकेका छन् ।
त्यस्तै कतारको गृह मन्त्रालयले सर्वसाधारणलाई सरकारी निर्देशनहरू कडाइका साथ पालना गर्न, सुरक्षित स्थानमा बस्न, झ्याल तथा खुला स्थानहरूबाट टाढा रहन तथा अत्यावश्यक अवस्थाबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ ।
मन्त्रालयले अपरिचित वस्तु वा भग्नावशेष नजिक नजान चेतावनी दिँदै केही त्यस्तो बस्तु देखेमा ९९९ मा तुरुन्त जानकारी गराउन अनुरोध गरेको छ ।