
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नम्बर ४ को उम्मेदवारीले आफूलाई राजनीतिक रूपमा पूर्णता दिएको बताएका छन् ।
काठमाडौंको मैतीदेवीस्थित मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले मधेसको बसाइले आफ्नो दृष्टिकोण र सोच्ने तरिका नै बदलिदिएको बताएका हुन् ।
विगतका निर्वाचनहरूमा आफैं उम्मेदवार हुँदा आफैंलाई मत हाल्ने गरेको स्मरण गर्दै उनले यसपटक भने युवा उम्मेदवार सचिन तिमल्सिनालाई मतदान गर्न पाउँदा निकै खुसी लागेको बताए । आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ को अवस्थाबारे जानकारी दिँदै थापाले दुईवटा मतदान केन्द्रमा सामान्य तनाव भएर केहीबेर मतदान रोकिए पनि सर्वदलीय छलफलपछि पुनः सुचारु भएको जानकारी दिए । उनले विपक्षीहरूले उक्साउने कोसिस गरे पनि कांग्रेसले संयमता अपनाएको र कुनैपनि अप्रिय घटना हुन नदिने स्पष्ट पारे ।
विगतमा मधेशलाई बाहिरबाट मात्रै हेरेको र त्यहाँको वास्तविक अवस्था थाहा नपाएकोमा एक राजनीतिज्ञको रूपमा आफूलाई लज्जा महसुस भएको उनले स्वीकार गरे । सर्लाही–४ को अनुभवले आफूलाई देश हेर्ने नयाँ दृष्टिकोण दिएको र राजनीतिक रूपमा पूर्ण बनाएको उनको भनाइ छ ।