
प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत चर्चित नेताहरु पछाडि परेका छन् ।
ओलीलाई झापा ५ मा रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह बालेनले पछि पारेका हुन् । तीन घण्टाअघि सुरु मत मतगणनामा १४०० मत गन्दा बालेनले ८१४ र ओलीले ३८४ मत प्राप्त गरेका छन् ।
रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेल धेरै पछि परिसकेका छन् । रास्वपाका सुलभ खरेलले २७ सय ७९ मत पाउँदा पौडेलले ६०९ मत पाएका छन् । कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेलले ३०५ र नेपाली कम्युनिष्ट पार्टीका विश्वदीप पाण्डेले ३५ मत पाएका छन् ।
काठमाडौं ५ मा एमाले उम्मेदवार ईश्वर पोखरेल पनि पछि परेका छन् । रास्वपाका उम्मेदवार सस्मित पोखरेलले १ हजार ४२४ मतसहित अग्रता लिँदा कांग्रेसका प्रदीप पौडेलले ४१२ र एमालेका पोखरेलले २८५ मत प्राप्त गरेका छन् ।
भक्तपुर २ मा एमालेका चर्चित उम्मेदवार महेश बस्नेत पनि रास्वपाका राजीव खत्रीसँग पछि परेका छन् । खत्रीले २००० मत पाउँदा बस्नेतले १ हजार २८१ मत ल्याएका छन् । कांग्रेसका कबीर राणाले १७४ मत प्राप्त गरेका छन् ।