
काठमाडौं : हिजो सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले एक–एक क्षेत्रमा जित हासिल गरिसकेका छन् । रास्वपाले ८१ सिटमा अग्रता लिएको छ भने कांग्रेसले १०, एमाले र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार ७–७ क्षेत्रमा अगाडि छन् ।
काठमाडौं उपत्यकामा भने रास्वपाले एकछत्र प्रभाव देखिएको छ । २०७९ सालको निर्वाचनमा काठमाडौंंका ४ र ललितपुरको एक क्षेत्र जितेको रास्वपाले यसपटक छलाङ मारेको छ । काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्र र भक्तपुरका दुई निर्वाचन क्षेत्रमा क्लिन स्वीप गर्ने देखिएको छ । ललितपुर १ मा नेपाली कांग्रेसका उदयशमशेर राणाले अग्रता लिएका छन् । क्षेत्र नं. २ र ३ मा भने रास्वपाका उम्मेदवारहरु अगाडि छन् ।
गत निर्वाचनमा काठमाडौंमा चुनावी लहर ल्याएको रास्वपाले यसपटक देशैभर उछाल ल्याएको छ । रास्वपा सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र शाह बालेनले अन्तिम चरणमा मात्र उपत्यकामा चुनावी प्रचार रोड शो गरेका थिए । चुनावी प्रचारमा ठूलो हलचल नदेखिएको काठमाडौंमा भित्रभित्रै चर्को आवाजमा घण्टी बजेको छ ।
काठमाडौं १ मा रञ्जु दर्शनाको जित घोषणा भइसकेको छ भने क्षेत्र नं. ८ मा विराजभक्त श्रेष्ठको विजय घोषणा हुँदैछ । क्षेत्र २ मा ढिलो मत गणना सुरु भए पनि रास्वपाका उम्मेदवारले अन्तर फराकिलो पार्दै गएका छन् भने काठमाडौं ३ मा राजु पाण्डे र ४ मा पुकार बम जित्ने निश्चितजस्तै भइसकेको छ ।
त्यस्तै क्षेत्र नं. ५ मा सस्मित पोखरेलले कांग्रेस महामन्त्री प्रदीप पौडेल र एमालेका बरिष्ठ नेता ईश्वर पोखरेललाई फराकिलो अन्तरले पछाडि पारिसकेका छन् । त्यस्तै, ६, ७ र ९ नम्बर क्षेत्रमा पनि रास्वपा जिततर्फ लम्किएको छ ।
नेपाल मजदुर किसान पार्टीको गढ मानिएको भक्तपुर १ मा पनि यसपटक रास्वपाले चुनाव जित्ने देखिएको छ भने क्षेत्र नं. २ मा रास्वपाकै राजिब खत्रीले मतान्तर बढाउँदै लगेका छन् ।
यसरी हेर्दा काठमाडौं उपत्यकाका १५ मध्ये १४ निर्वाचन क्षेत्रमा रास्वपाले जित्ने निश्चितजस्तै भएको छ ।