
काठमाडौं : नेपाल फुटबल खेलाडी संघले आफ्ना माग सम्बोधन नभएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा तालाबन्दी गरेको छ । लामो समयदेखि खेलाडी तथा नेपाली फुटबलको हितका विषयमा विभिन्न माग उठाउँदै आए पनि एन्फाले बेवास्ता गरेको आरोप लगाउँदै संघले तालाबन्दीको निर्णय गरेको जनाएको छ ।
संघका अनुसार चरणबद्ध रूपमा वार्ता र सडक संघर्ष गर्दै आए पनि मागहरू कार्यान्वयनतर्फ एन्फाले ठोस पहल नगरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको हो । संघले आफ्ना माग पूरा नभएसम्म एन्फा मुख्यालयमा तालाबन्दी जारी रहने चेतावनी दिएको छ ।
खेलाडी संघले मुख्य रूपमा तीन वटा माग अघि सारेको छ । पहिलो, शहीद स्मारक डिभिजन लिगको सञ्चालन सुनिश्चित गर्दै ए डिभिजन लिगको मिति एन्फाले यसअघि दिएको प्रतिबद्धताअनुसार तोक्नुपर्ने माग गरिएको छ ।
दोस्रो, खेलाडी अक्षय कोषको विस्तृत विवरण सार्वजनिक गर्नुपर्ने माग राखिएको छ । संघका अनुसार गत वर्ष एकै प्रतियोगिताबाट जम्मा हुनुपर्ने करिब ६५ लाख रुपैयाँसहित कोषको अवस्थाबारे स्पष्ट जानकारी दिनुपर्ने उनीहरूको माग छ ।
तेस्रो, खेलाडीहरूको बाँकी तलब, भत्ता तथा पुरस्कार रकम उपलब्ध गराउनुपर्ने माग गरिएको छ । खेलाडी संघले सन् २०१७ देखि बाँकी रहेको पुरस्कार तथा नियमित तलब–भत्ताको भुक्तानी गर्नुपर्ने बताएको छ । उक्त विषय हालको एन्फा कार्यसमितिको बैठकबाट समेत पारित भइसकेको संघको दाबी छ ।
संघले आफ्ना मागहरू कार्यान्वयन नभएसम्म तालाबन्दी जारी रहने जनाएको छ । साथै, संघको सहमतिविना तालाबन्दी खोल्ने प्रयास भए त्यसबाट उत्पन्न हुने सम्पूर्ण क्षतिको जिम्मेवारी एन्फाले नै लिनुपर्ने चेतावनी दिएको छ ।