– त्रिपुरा खरेल, भारत
बाहिर पट्टिको झ्यालको ऐनाबाट
मेरो सोपान छर्लङ्ग देखिन्छ
त्यही ऐनाबाट भालेपोथी जुरेलीहरु
घरि मलाई शंकालु नजरले हेर्छन्
घरि भ¥याङको खुड्किला गन्छन्
फेरि सोपानतिर दृष्टि जमाउँछन्
मलाई देखेर डराएरका
ती जुरेलीका जोडी पखेटा लुकाएर
दुई खुट्टाले उक्लने कला सिक्दैछन् ।।
झ्याल अगाडिको अशोकाको वृक्ष
सुन्दर काण्डको अशोका नहोला
तर मिल्दोजुल्दो नाम जोडिएको
त्यो वृक्षमा रमाएका जुरेलीहरु
घरि मेरो सिसाको झ्याल अघि
आफू जस्तै अनुहार खोज्छन्
घरि आफ्ना पखेटा फड्फडाउँदै
क्रिडामा व्यस्त देखिन्छन्
फेरि तर्सिएको भावले मलाई हेर्छन्
म नदेखेको अभिनय गर्छु
तिनीहरु चारा टिपेको जस्तै गरी
सीसालाई नै ठुङ्ग्न थाल्छन्
म सुटुक्क हेर्छु तिनका गतिविधि ।।
सिसाको अर्को पक्षमा जुरेलीले
आफ्नै प्रतिक्षामा देख्छन्, तर्सिन्छन्
फेरि आफू आफैसँग लड्छन्
एउटै जातिबीचको युद्ध जस्तो
आखिर अबोध चरा न ठहरिए !
नेपाली नेपालीबीचको द्वन्दमा
खुकुरीले ‘वीरता’ नाम मेटाए जस्तै
ती जुरेलीहरुलाई पनि
आफ्नै प्रतिबिम्बसँगको लडाइँमा
अग्रसर भएको अनि हारेको देख्छु
भ्रान्तिले द्वेष उत्पन्न गरे लगत्तै
घाइते जुरेलीलाई आँगनमा देख्छु ।।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies