
काठमाडौं : नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचनमा जनताले मतमार्फत एमालेको नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृत गरेको स्वीकारेका छन् । यो वस्तुगत यथार्थ स्वीकारेर आफूभित्र सर्वांगीण रूपान्तरणमार्फत जनसमर्थन पुनः आर्जनको बाटो लिनुपर्ने उनले बताएका छन् ।
एमाले यो अवस्थामा आउनुमा पार्टीले लिएका नीति मात्र होइन, जिम्मेवारीमा रहेका तहगत कमिटी र नेताहरू सबै भागीदार रहेको नेता भट्टराईले बताएका छन् । ‘नीतिगत र कार्यकारी भूमिकामा रहेको केन्द्रीय कमिटी, केन्द्रीय सचिवालयले नै जस अपजसको भारी बोक्नुपर्दछ । यो सबैको जवाफदेहिता फेरि पनि प्रमुख नेता कै रहन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सफलता वा असफलतापछिको जवाफदेहिताको कार्यान्वयन कसरी हुन्छ ? पूर्वाग्रह, भावना र षड्यन्त्रको सिद्धान्तबाट माथि उठेर पार्टीभित्र यसमा गम्भीर छलफल गर्नु पर्दछ ।’
उपमहासचिव भट्टराईले पार्टीले सामना गर्नु परेको अवस्था र असफलता सिगो पार्टीको असफलता भएको उल्लेख गर्दै सामूहिक बुद्धि, विवेक र सामूहिक पहलबाट मात्र यो अवस्थालाई बदल्न सकिने बताएका छन् ।
‘म सबै नेता कमरेडहरू र सिंगो पार्टी पंक्तिलाई हिजोका गुट/समूहका घेराबाट बाहिर निस्केर खुला खुलस्त बहसमा सहभागी हुन आह्वान गर्दछु । सथै पार्टी, जनसंगठन र प्रवासका तहगत कमिटी र सदस्य कमरेडहरूलाई आफ्ना राय सुझावहरू पार्टी नेतृत्वसमक्ष पठाउन अनुरोध गर्दछु,’ उनले भने, ‘कमरेडहरू, हामी ढलेका मात्र हौं, मरेका होइनौं । सही नीति, सही संगठन, सही नेतृत्व, सही व्यवहार र सही कार्यशैलीमार्फत हामी उठ्ने छौं र पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई फेरि उठाउने छौं । संयम र धैर्यताकासाथ पार्टीको एकता जोगाउन र सही मार्गमा अघि बढ्न र आत्मभर्त्सना होइन, आत्मसमीक्षाको बाटोमा हिँड्न एमालेका सम्पूर्ण कमरेडहरूलाई हार्दिक अपिल गर्दछु ।’