२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

काठमाडौं विश्वका सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो नम्बरमा

shivam cement
२०८२ फागुन २५ गते १७:५३
Shares
काठमाडौं विश्वका सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो नम्बरमा

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्ला दिनहरूमा वायु प्रदूषण तीव्र रूपमा बढेको छ। अन्तर्राष्ट्रिय संस्था ‘आइक्यु एयर’का अनुसार सोमबार अपराह्नसम्म काठमाडौं विश्वकै सबैभन्दा बढी प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा पुगेको छ।

हावाको गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय वेबसाइट ‘आइक्यु एयर’का अनुसार सोमबार अपराह्न काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्युआई) १८४–१८५ को हाराहारीमा पुगेको छ, जुन जनस्वास्थ्यका दृष्टिले निकै ‘अस्वस्थ’ मानिने स्तर हो ।

सोही सूचकांकका आधारमा बंगलादेशको ढाका करिब १७० एक्युआईका साथ दोस्रो स्थानमा छ भने भारतको कोलकाता १६९–१७३ एक्युआईसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै भारतको दिल्ली १६० एक्युआईसहित चौथो र इटालीको मिलान १५९ एक्युआईसहित पाँचौं स्थानमा रहेका छन् ।

पछिल्ला केही दिनयता काठमाडौं उपत्यकाको आकाश बाक्लो तुवाँलोले ढाकिएको छ । घाम कम देखिनुका साथै सर्वसाधारणले प्रत्यक्ष रूपमा प्रदूषणको असर महसुस गरिरहेका छन् । धेरैलाई आँखा पोल्ने, घाँटी चिलाउने तथा श्वासप्रश्वासमा असहजता हुने समस्या देखिन थालेको छ ।

विज्ञहरूका अनुसार सवारी साधनको बढ्दो चाप, सडक विस्तारका क्रममा उड्ने धुलो तथा देशका विभिन्न भागमा लागिरहेको वन डढेलोका कारण काठमाडौंको वायु गुणस्तर झन् खराब बन्दै गएको हो ।

उच्च वायु प्रदूषणका कारण विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा पहिलेदेखि दम वा मुटु सम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा पर्ने चिकित्सकहरूले बताएका छन् । यस्तो अवस्थामा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र ‘मर्निङ वाक’ तथा अन्य बाहिरी शारीरिक व्यायाम नगर्न उनीहरूले सुझाव दिएका छन् ।

सम्बन्धित खबर