
काठमाडौं : प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम करिब आइसकेको छ भने मंगलबारसम्म समानुपातिक मत पनि गनेर सकिँदै छ । तर, नवनिर्वाचित सांसदका लागि संसद् भवन भने तयार भइसकेको छैन । संविधानतः ‘अन्तिम परिणाम आएको ३० दिनभित्र बस्नुपर्ने’ सदनको बैठकका लागि ठाउँ तयार गर्न संसद् सचिवालयलाई भ्याइ नभ्याइ छ ।
सिंहदरबारको पुतली बगैंचास्थित एक सय ५७ रोपनी जमिनमा बनिरहेको संसद् भवन बाहिरबाट तयार हुनै लागेको देखिन्छ । तर, मसिना भित्री काम छिट्टै पूरा हुने छाँटकाँट भने देखिँदैन । शपथ खुवाउनकै लागि भए पनि नयाँ भवनमा एउटा हल ‘फिनिसिङ’को काम हतारहतार भइरहेको छ ।
बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संसद् भवन गत २३–२४ भदौको जेनजी आन्दोलनका क्रममा जलाइयो । वार्षिक एक करोड रुपैयाँभन्दा बढी भाडा तिरेर २०६३ देखि त्यहाँ संसद् बैठक सुरु गरिएको थियो । नयाँ संसद् भवनका लागि भवन निर्माण विभागअन्तर्गत विशेष भवन निर्माण परियोजनाको रेखदेखमा तुँदी—एचएसइसी जेभी निर्माण कम्पनीले २०७६ असोज १६ गते तीन वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो । सम्झौताअनुसार समयमा काम नसकिएपछि पाँचौंपटक म्याद थप्दा समेत सरकारलाई भवन हस्तान्तरण गर्न सक्ने अवस्था छैन ।
परियोजनाले दिएको पछिल्लो जानकारीअनुसार निर्माण कार्यमा कुल भौतिक प्रगति ९३ प्रतिशत भएको छ भने वित्तीय प्रगति मात्र ७८ प्रतिशत छ । यस्तो अवस्थामा छिटो काम सम्पन्न गरेर भिडियो, साउन्ड, नेटलगायत तयारी गर्न पनि करिब एक साताको समयअन्तर राखेर संसद् सचिवालयलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ ।
‘अब जडान हुने सबै प्रणाली विदेशबाट सामान ल्याएर बनाउनुपर्ने रहेछ । कतिपय सामान पानीजहाजबाट ल्याउने तयारी भइरहेको जानकारी पाइएको छ । त्यो नसकिँदासम्म भित्रका काम पनि गर्न नसकिएको स्थिति रहेछ,’ शनिबार निर्माणाधीन भवनको कार्यप्रगति बुुझ्न त्यहाँ पुुगेका संसद्का एक पदाधिकारीले नाम उल्लेख नगर्ने सर्तमा मध्यान्हलाई भने ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीले अन्यत्र ठाउँ खोज्दा पनि व्यवस्थापनका लागि समय लाग्ने र खर्चिलो समेत हुने भएकाले बन्दै गरेको भवन निर्माण सकेर हस्तान्तरण गर्नुको विकल्प नभएको बताए । ‘हामीलाई चैतको पहिलो हप्तासम्म तयारी भवन चाहिन्छ, अरू कुरा जान्दैनौं भनेका छौं,’ उनको भनाइ थियो ।
संसद् भवन पूरै तयार हुन नसके विकल्पमा त्यहीँ बन्दै गरेको एक बहुुउपयोगी हललाई शपथ ग्रहणलगायत प्रारम्भिक कामका लागि ल्याउनेबारे संसद् सचिवालयका अधिकारीहरूले छलफल अघि बढाएका छन् । उक्त हलमा शपथ गराउन सके सदनको पूर्ण बैठकका लागि केही समय प्राप्त हुने प्रवक्ता गिरीको भनाइ छ ।
बन्न लागेको संसद् भवनमा सात सय सिट क्षमताको प्रतिनिधिसभा बैठक कक्ष छ । सभा हल चार सय र बाल्कोनी तीन सय सिट क्षमताका छन् । राष्ट्रिय सभा हल दुई सय ९० सिट क्षमताको छ । दुवै कक्षको बीचमा तीन सय ५० सिट अट्ने संयुक्त लबी छ ।
‘प्रतिनिधिसभा भवनको मुख्य हल धेरै अग्लो र तीन तहमा फल्ससिलिङ हाल्नुपर्ने भएकाले समय पुुगेन,’ मध्यान्हसँग कुरा गर्दै सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक रोशन श्रेष्ठले बताए । फल्ससिलिङ राख्न प्रयोग गरिएका खटहरू खोल्नका लागि मात्र करिब दुुई साता लाग्ने भएकाले पनि बहुउपयोगी हललाई विकल्पका रूपमा अघि सारिएको भनाइ उनको थियो ।