२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

ओलीलाई अध्यक्ष छाड्न दबाब

shivam cement
२०८२ फागुन २६ गते ०६:२५
Shares
ओलीलाई अध्यक्ष छाड्न दबाब

काठमाडौं : नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको आवाज उठ्न थालेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीले अप्रत्याशित हार बेहोरेसँगै पार्टीभित्रै अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष छाड्न दबाब दिन थालेका छन् । 

पार्टीको सचिवालय, केन्द्रीय समिति हुँदै जिल्ला तहका नेताले समेत सामाजिक सञ्जालमार्फत अब सच्चिएर जानुपर्ने बताउन थालेका छन् । त्यसको काउन्टरमा संस्थापन पक्षले व्यक्तिगत टिप्पणीतर्फ नलागी पार्टी बैठक पर्खन आग्रह गरेको छ ।

एमाले सचिवालय स्रोतले मध्यान्ह दैनिकसँग कुरा गर्दै निर्वाचन परिणाम सम्पूर्ण रूपमा आएपछि सचिवालय बैठक बस्ने जानकारी दियो । त्यसपछिका बाटाहरू सचिवालय बैठकले तय गर्ने पनि स्रोतको भनाइ थियो ।

‘निर्वाचन परिणाम सामूहिक उत्तरदायित्वको विषय हुँदाहुँदै एउटा व्यक्तिलाई दोषी करार गर्नु उचित हुन्न बरु वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ,’ संस्थापन पक्षका एक नेताले भने ।   

पार्टीका उपमहासचिव योगेश भट्टराईले सोमबार बिहान फेसबुकमा ‘कमरेडहरू, हामी ढलेका मात्र हौं, मरेका होइनौं’ शीर्षकमा सातबुँदे भनाइ पोस्ट गर्दै यो निर्वाचनले एमालेकोे नीति र नेतृत्वलाई जनताले शान्तिपूर्ण रूपले अस्वीकृत गरेको उल्लेख गरेका छन् । 

यो आजको वस्तुगत यथार्थ भएको जिकिर गर्दै उनले अब आफू (एमाले)भित्र सर्वांगीण रूपान्तरणमार्फत जनसमर्थन पुनः आर्जनको बाटो लिनुपर्ने धारणा राखेका छन् । 

निर्वाचन सकिएको तीन दिनयता करिब एक हजार जनासँग फोनमा कुरा भएको र त्यत्तिकै संख्यामा म्यासेज हेरेको उल्लेख गर्दै भट्टराईले त्यसमा अधिकांश पार्टी सदस्यहरूले मिश्रित धारणा राखेको समेत सार्वजनिक गरेका छन् । ‘बोल्नुप¥यो, पहल लिनुप¥यो भनेर प्रेरणादायी अनि दबाबयुक्त कुरा पनि सुनेको छु,’ उनको पोस्टमा उल्लेख छ ।  

भदौ २३ र २४पछि एमालेले लिएका नीति ठिक छैनन् त्यसमा करेक्सन गरौं भनेर आफूहरूले नेतृत्व र सिंगो पार्टी पंक्तिलाई बैठक, भेटघाट र महाधिवेशनमार्फत पटकपटक अनुरोध गरेको तर सफल नभएको उनको भनाइ छ । ‘अब पुनः छलफल र बहस खुला गर्नु पर्दछ,’ पोस्टमा उनले भनेका छन् । 

नेकपा एमाले यो अवस्थामा आउनुमा पार्टीले लिएका नीति मात्र नभई नेताहरू पनि जिम्मेवार रहेको उनको बुझाइ छ । नीतिगत र कार्यकारी भूमिकामा रहेको केन्द्रीय कमिटी, केन्द्रीय सचिवालयले नै जस–अपजसको भारी बोक्नुपर्दछ,’ उनको भनाइ थियो । 

सिंगो पार्टी पंक्तिलाई हिजोका गुट (समूह)का घेराबाट बाहिर निस्केर खुलस्त बहसमा सहभागी हुन आह्वान गर्दै उनले पार्टी, जनसंगठन र प्रवासका तहगत कमिटी र सदस्यहरूलाई आफ्ना राय सुझाव पार्टी नेतृत्वसमक्ष पठाउनसमेत अनुरोध गरेका छन् । 

यसअघि केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले विगत १२ वर्ष, केपी ओली अध्यक्ष भएदेखि बाटो बिराउन थालेको दाबी गरेकी छिन् । ‘हामीले बहुमत जनताको मनोभावना नबुझी आफ्नै ढिपी, घमण्ड, अहंकार जोत्दैजोत्दै आयौं । अनि अहिले आएर यो तहको ठक्कर खायौं,’ उनको भनाइ छ । 

उपाध्यक्ष विष्णु पौडेलले विगतमा पार्टीका तर्फबाट भएका गल्ती–कमजोरीको गम्भीर समीक्षा गर्नुपर्ने उल्लेख गरेका छन् । निर्वाचन परिणाम सार्वजनिक भएपछि फेसबुक पोस्ट गर्दै उनले जनअपेक्षाअनुसार आफैंलाइ रूपान्तरण गर्नुपर्ने बताउँदै उनले  नेकपा (एमाले)को नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुरूप पुनर्गठन गर्न अग्रसरता लिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । 

अर्का केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले फेसबुकमा प्रतीकात्मक टिप्पणी गर्दै पार्टी नेतृत्वलाई ‘समयअनुसार नचले डाइनोसर बन्ने खतरा रहेको’ बताएका छन् । 

नेता प्रदीप ज्ञवालीले पार्टीका नेताहरूले आ–आफ्नो धारणा सार्जजनिक गर्दा पार्टीलाई थप हानि हुने बताउँदै त्यस्तो हुन नदिन केन्द्रीय समितिको अविलम्ब बैठक बस्न जरुरी भएको बताएका छन् । 

पार्टीको विपक्षमा जनमत जाने गरी के–के भएका थिए ? ती घटनालाई सच्याउन सकिने थियो वा काबुबाहिरको परिस्थिति थियो भन्ने कुरामा गम्भीर अध्ययन गर्नैपर्र्ने पनि उनले बताए । 

संस्थापन पक्षका नेता सूर्य थापाले भने पार्टीका विषयवस्तु बाहिर नपोख्न चेतावनी दिँदै पार्टी महाधिवेशनमा अस्वीकृत र पराजित भएका आधारमा चलखेल गरिनु सर्वथा मुर्खताबाहेक केही नहुने उल्लेख गरेका छन् ।

हरेक व्यक्तिको भूमिका जनता र कार्यकर्ताको सार्वजनिक निगरानीबाहिर नरहेको वास्तविकतालाई हेक्का राख्न चेतावनी दिँदै थापाले पार्टी र आन्दोलनका विरोधी र वैरीहरूको बोलीमा लोली मिलाएर जगहसाइ नगर्न पनि सुझाएका छन् । 

एमाले नेतृ रामकुमारी झाँक्रीले भने सामाजिक सञ्जालमा आएका विषयले पार्टीको आधिकारिकता नबोक्ने बताएकी छिन् । सोमबार राष्ट्रिय सभा सदस्यको शपथग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दैं उनले संस्थागत निर्णय पर्खिनुपर्ने बताइन् । 

सम्बन्धित खबर