
काठमाडौं : तीन बुँदे माग राख्दै खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा)को कम्प्लेक्समा लगाएको ताला खोलिएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा लगाइएको ताला मंगलबार खेलाडीहरूले खोलेका हुन् । एन्फा र खेलाडीहरूबीच सहमति भएपछि उक्त ताला खोलिएको हो ।
दुवै पक्षले मंगलबार नै संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै सहमति जनाएका छन् । तीन बुँदे माग राख्दै नेपाल फुटबल खेलाडी संघले गत आइतबार ताला लगाएको थियो । संघका अध्यक्ष विक्रम लामाको नेतृत्वमा तीन दर्जन खेलाडीको टोलीले एन्फा मुख्यालयमा ताला लगाएको थियो । एन्फा र नेपाल फुटबल खेलाडी संघबीच शहीद स्मारक ‘ए’ डिभिजन लिग आगामी चैतको ३० गतेबाट सुरु गर्ने सहमति भएको छ ।
साथै खेलाडी अक्षय कोषमा एन्फाले रकम जम्मा गर्ने प्रतिबद्धता जनाएको छ । खेलाडीहरूको सेवा सुविधासम्बन्धी अघिल्लो कार्यसमितिबाट निर्णय भई भुक्तानी हुन बाँकी रहेको पुरस्कार रकम पनि चैत महिनादेखि किस्ताबन्दीमा भुक्तानी गर्दै जाने सहमति पनि भएको छ ।
छलफलमा एन्फा महासचिव राई, केन्द्रीय सदस्य पुरुषोत्तम थापा, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, कोषाध्यक्ष रवीन्द्र जोशी, प्रवक्ता सुरेश शाह तथा खेलाडी संघका प्रतिनिधि सहभागी थिए । मंगलबार नै पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता शाह, प्रतियोगिता निर्देशक संजीव मिश्र, खेलाडी संघका अध्यक्ष विक्रम लामा र उपाध्यक्ष विकेश कुथुले दुवै पक्ष सहमतिमा आएको बताए । शहीद स्मारक लिग तीन वर्षदेखि हुन सकेको छैन ।
अहिले राष्ट्रिय लिग भइरहेको छ । त्यसमा शीर्ष डिभिजन क्लब हिमालयन शेर्पाबाहेक सबै सहभागी भएका छन् । खेलाडीहरूले डिभिजन क्लब पनि आयोजना गर्न दबाब दिँदै आइरहेका छन् ।
एन्फाको आगामी चैत १३ गते निर्वाचन हुँदै छ । मिति निजिकिँदै गर्दा एन्फा आन्तरिक विवादमा रुमलिँदै आएको छ । क्लबहरूले आफूहरूको सहमतिबिना लिग नगर्न चेतावनी दिएका छन् ।
नेपाल फुटबल क्लब एसोसिएसनले सात वटा माग राख्दै ध्यानाकर्षण पत्र सार्वजनिक गरेको छ । उनीहरूले क्लब र एन्फाबीच भएको सहमति कार्यान्वयन गर्नुका साथै लिग सञ्चालनमा ल्याउने माग राखेका छन् । यद्यपि, सोमबार मात्र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तत्काल निर्वाचन रोक्न एन्फालाई पत्र पठाएको थियो ।