
अर्घाखाँची : हालै सम्पन्न प्रतिनिधि सभाका सदस्यमा निर्वाचित हरिप्रसाद भुसालले अर्घाखाँची जिल्लालाई घुम्न र बस्न लायक जिल्लाको रुपमा विकाश गर्ने अभियानमा पत्रकारहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने बताएका छन ।
नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले सन्धिखर्कमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै भुसालले जिल्लाको विकास, पर्यटन प्रवर्धन तथा मिडिया क्षेत्रको सुदृढीकरणका लागि पत्रकारहरूसँग हातेमालो गरेर अघि बढ्ने बताएका हुन् ।
भुसालले निर्वाचनका क्रममा पत्रकारहरूले खेलेको भूमिका उल्लेखनीय रहेको भन्दै पत्रकार तथा पत्रकारमार्फत सम्पूर्ण अर्घाखाँचीबासीप्रति धन्यवाद व्यक्त गरे ।
भुसालले अर्घाखाँचीमा मिडिया क्षेत्रको अवस्था अझै सुदृढ हुन नसकेको उल्लेख गर्दै यसको विकासका लागि आफूले सक्रिय रूपमा सहयोग गर्ने बताए । लामो समयसम्म आफू स्वयं मिडिया सञ्चालनमा जोडिएको अनुभव सुनाउँदै उनले पत्रकारिता क्षेत्रका समस्या र चुनौतीबारे आफूलाई राम्रो जानकारी रहेको बताए ।
‘मिडिया क्षेत्रका समस्या मैले नजिकबाट बुझेको छु,’ उनले भने,‘संसदमा सन्चार क्षेत्रका समस्या समधान गर्न कानुन बनाउने बिषयमा संसदमा आफ्नो आवाज बुलन्द बनाउने गरिनेछ ।’
संसदीय यात्रा आफ्नो पहिलो अनुभव भएको उल्लेख गर्दै उनले संसदको कार्यप्रणाली र जिम्मेवारीबारे अझै धेरै सिक्न बाँकी रहेको उल्लेख्य गर्दै यसका लागि पत्रकारहरूको साथ, सहयोग र सुझाव आवश्यक पर्ने उनको भनाइ थियो ।
जिल्लामा अझै धेरै समस्या रहेको उल्लेख गर्दै उनले ती समस्या समाधानका लागि पत्रकारहरूको सहयोग आवश्यक हुने बताए। आफूलाई ‘माननीय’ भन्दा पनि भाइ वा साथीको रूपमा व्यवहार गर्न आग्रह गर्दै उनले सहकार्य र संवादमार्फत विकासका कामलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाका अध्यक्ष गणेश खनालले जिल्लाको विकासका लागि पूर्व पत्रकार संसदमा पुग्नु पत्रकारहरूका लागि गौरवको विषय भएको बताए ।
उनले सकारात्मक काममा पत्रकारहरूले खुला रूपमा सहयोग गर्ने तर गलत काम भए खुलेर विरोध गर्ने स्पष्ट पार्दै जनताका अपेक्षा पूरा गर्न जनप्रतिनिधिलाई खबरदारी गर्ने दायित्व पत्रकारहरूको रहेको बताए ।
कार्यक्रममा पत्रकारहरूले अर्घाखाँचीको समग्र विकास, सुशासन र जनताको हितका विषयमा पत्रकारिता क्षेत्रले निरन्तर खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।