काठमाडौं : सुधारका विभिन्न योजना बनाएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ती योजना पूरा नहुँदै जिम्मेवारीबाट मुक्त हुने अवस्थामा पुगेका छन् ।
गत असोज २३ गते नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट श्रममन्त्रीको शपथ लिएपछि मध्यान्ह राष्ट्रिय दैनिकसँगको कुराकानीमा तत्कालीन नवनियुक्त मन्त्री श्रेष्ठले कोरोनाका कारण संसारका विभिन्न भागसहित नेपालमा पिल्सिएका कामदारलाई राहत दिने, आन्तरिक श्रम सम्बन्धलाई मैत्रीपूर्ण बनाउने र विदेशमा जस्तै नेपालमा पनि कार्यस्थलमा श्रमिकलाई भौतिक तथा अन्य सुरक्षाको प्रत्याभुति गर्ने व्यवस्था मिलाउने बताएका थिए ।
वैदेशिक रोजगार व्यवसायीको पनि पृष्ठभूमि भएका श्रेष्ठले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाउँदा वैदेशिक रोजगार व्यवसायीहरू पनि लामो समयदेखि थाँती रहेका समस्याहरुको सकारात्मक समाधान हुने भन्दै आशावादी देखिएका थिए ।
विगतमा वैदेशिक रोजगार क्षेत्र बुझेका व्यवसायी टेकबहादुर गुरूङ मन्त्रालयमा राज्यमन्त्री हुँदा आएको फ्रि भिसा फ्रि टिकटको निर्णयले आफुहरु समस्यामा परेको व्यवसायीहरुले गुनासो पोख्दै आएको अवस्थामा मन्त्रालयको जिम्मेवारीमा श्रेष्ठको नियुक्ति व्यवसायीहरूका लागि अध्याँरो सुरूङको क्षितिजमा देखिएको उज्यालो किरण थियोे । तर लामो समयदेखि जमेर बसेका समस्याको समाधान नहुँदै श्रेष्ठको बहिर्गमनले समस्याको समाधान थप पर धकेलिने चिन्ता बढाएको छ ।
आइतबार एकीकृत समाजवादीले आफ्ना पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरेसँगै मन्त्री श्रेष्ठ पनि बिदाइ हुने अवस्थामा पुगेका हुन् । एकीकृत समाजवादीले शेरबहादुर कुँवरलाई श्रम मन्त्रीमा नियुक्त गर्न सरकारसमक्ष सिफारिस गरेको छ । एकीकृत समाजवादीले सिफारिस गरेसँगै सोमबार कुँवरलाई श्रम मन्त्रीमा नियुक्त गर्ने सरकारको तयारी छ भने सोमबार नै शपथ कार्यक्रम पनि रहेको बताइएको छ ।
बिहीबार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनसँगको भेटमा व्यवसायी आफ्नोतर्फबाट शुरू गरिएका सुधारका काममा साथ दिन तयार नभए पनि आफू संख्या सयको समस्याको समाधान र सेवा शुल्क परिमार्जनका लागि सकारात्मक रहेको बताएका थिए ।
मन्त्री श्रेष्ठ समस्याको समाधानका कार्यकालको अन्तिमसम्म प्रतिवद्ध रहे । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न शून्य सहनशीलता नीति अपनाउने बताएका मन्त्री श्रेष्ठ अन्तिमसम्म त्यसमा प्रतिवद्ध देखिए ।
सचिव एकनारायण अर्यालसहित बिहीबार बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन गरेका मन्त्री श्रेष्ठले ठगीमा परेका कामदारहरुलाई समयमा न्याय दिने तथा विदेशमा अलपत्र कामदारको तत्काल उद्धार गर्ने संयन्त्र बनाइने बताएका थिए ।
उनले ठगीमा परी उजुरी दिएका कामदारहरुलाई छिटोछरितो सेवा दिन निर्देशन दिएका थिए । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा गएर वास्तवमै अलपत्र परेको भए तत्काल उद्धार गरिने तर विभिन्न वहानामा काम नगर्ने र उद्धारको लागि सरकारसँग हारगुहार गर्ने प्रवृत्ति पनि देखिएको बताएका थिए ।
मन्त्री श्रेष्ठले इजाजतवाला संस्था (म्यानपावर कम्पनी) को दर्ता, नवीकरण, कामदार पठाउन पाउने सीमा, धरौटी रकम, बैंक ग्यारेन्टी, कारबाही, फुकुवा तथा अन्य जानकारीलाई पूर्ण अनलाइन प्रणालीमा लैजाने मन्त्रालयको तयारी रहेको बताएका थिए । म्यानपावरले श्रमिक विदेश पठाउन सक्ने क्षमताका आधारमा धरौटी रकमलाई पुनःमुल्यांकन गर्ने संयन्त्रलाई समेत सुधार गरिने उनको भनाइ थियो । मन्त्री श्रेष्ठ पछिल्लो समय कन्सल्टेन्सीका नाममा ठगी बढेको भन्दै नियन्त्रणका लागि शिक्षा मन्त्रालयलगायत निकायसँग समन्वयन गरी शैक्षिक परामर्श संस्थाको नियमनमा कडाइ गर्ने तयारीमा थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies