२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

भारतमै ग्यास हाहाकार, नेपालमा खतराको घण्टी

shivam cement
२०८२ फागुन २७ गते १३:२१
Shares
भारतमै ग्यास हाहाकार, नेपालमा खतराको घण्टी

काठमाडौं : इरानमा जारी युद्धका कारण खाना पकाउने ग्यास (एलपिजी)को आपूर्तिमा ठुलो गिरावट आएपछि भारतभरका रेस्टुरेन्ट र होटल बन्द हुने अवस्थामा पुगेका छन् । अमेरिका–इजरायलद्वारा इरानमाथि गरेको आक्रमणले खाडी क्षेत्र हुँदै स्ट्रेट अफ हर्मुजमार्फत हुने जहाजको आवतजावत ठप्प भएपछि कतार र साउदी अरबजस्ता प्रमुख उत्पादकहरूबाट हुने ग्यास निर्यात र ढुवानीमा गम्भीर असर परेको छ । यसले गर्दा ऊर्जाको मूल्य र ढुवानी खर्चमा समेत वृद्धि भएको छ ।

विश्वकै दोस्रो ठुलो एलपिजी आयातकर्ता मुलुक भारतले गत हप्ता आपतकालीन शक्ति प्रयोग गर्दै रिफाइनरीहरूलाई घरेलु प्रयोजनका लागि उत्पादन बढाउन निर्देशन दिएको थियो । यस निर्णयले व्यावसायिक क्षेत्र विशेषगरी हस्पिटालिटी क्षेत्रले पर्याप्त ग्यास पाउन संघर्ष गर्ने अवस्था सिर्जना भएको छ । झन्डै एक वर्षपछि भारतमा एलपिजीको मूल्यमा पनि वृद्धि गरिएको छ, जसको मुख्य कारण भारतको कुल खपतको दुईतिहाइ हिस्सा ओगट्ने आयातीत ग्यासको मूल्य बढ्नु हो ।

पाँच लाखभन्दा बढी रेस्टुरेन्टहरूको प्रतिनिधित्व गर्ने ‘नेसनल रेस्टुरेन्ट एसोसिएसन अफ इन्डिया’ले सरकारलाई पत्र लेख्दै ग्यास आपूर्तिमा आउने अवरोधले उद्योगमा ‘विनाशकारी’ असर पर्ने र रेस्टुरेन्टहरू ठुलो संख्यामा बन्द हुन सक्ने चेतावनी दिएको छ । अर्को संस्था ‘फेडरेसन अफ होटल एन्ड रेस्टुरेन्ट एसोसिएसन अफ इन्डिया’ले पनि संकट टार्न सरकारी सहयोगको अपिल गरेको छ ।

भारतको ‘सिलिकन भ्याली’ मानिने बैंगलोरका धेरै रेस्टुरेन्टहरूले ग्यासको डेलिभरीमा भारी गिरावट आएको बताइरहेका छन् । सुरक्षाका कारण रेस्टुरेन्टहरूले धेरै ग्यास सिलिन्डर भण्डारण नगर्ने र नियमित आपूर्तिमा भर पर्ने भएकाले एकदेखि दुई हप्ताभित्रै धेरै भान्साहरू ठप्प हुन सक्ने व्यवसायीहरूको भनाइ छ । 

इरानले इजरायल र अमेरिकी आक्रमणको बदलामा खाडी मुलुकहरूमा प्रहार गरेपछि भारतको प्रमुख आपूर्तिकर्ता कतारले गत हप्तादेखि उत्पादन बन्द गरेको छ । जसले गर्दा आगामी दिनमा संकट थप गहिरिने देखिएको छ ।

नेपालमा देखिन सक्छ असर

नेपालले भारतको इन्डियन आयल कर्पोरेसन अफ इन्डियाबाट मात्रै तेल र ग्यासको आपूर्ति गर्ने गरेको छ । भारतमा नै ग्यासको हाहाकार हुने स्थिति सिर्जना भएपछि त्यसको स्वाभाविक असर नेपाल देखिने भएको हो ।

त्यसमा पनि नेपालमा केही समयअघिदेखि नै उपभोक्ताहरूले सहज रूपमा ग्यास प्राप्त गर्न सकिरहेका छैनन् । मुख्यगरी भारत र एसियाली बजारमा ग्यासको आपूर्तिमा नै समस्या हुने भएपछि नेपालको ग्यास आपूर्ति थप प्रभावित हुने स्पष्ट देखिएको छ ।

तर, नेपाल आयल निगमले भने अहिलेसम्म नेपालमा ग्यासको आपूर्ति नियमित रूपमा भइरहेको दाबी गर्दै आगामी दिनमा पनि आपूर्तिको सुनिश्चितता गरेको जनाएको छ । नेपाल आयल निगमका एलपी ग्यास तथा एभिएसन विभागका प्रमुख विनितमणि उपाध्यायले घरायसी उपभोग्य ग्यासको आपूर्तिलाई सहज बनाउन निगमले प्राथमिकता दिने बताएका छन् ।

‘अन्य मुलुकमा केही समस्या आए पनि आइओसीले हामीले मासिक रूपमा पाउने कोटाअनुसार नै ग्यास उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ, प्रतिबद्धताअनुसार अहिले पनि नियमित रूपमा ग्यासको आपूर्ति भइरहेको छ, आगामी दिनमा पनि उपलब्धताको पूर्ण रूपमा सुनिश्चितता गरेकाले हामीकहाँ कुनै समस्या आउँदैन,’ उनले भनेका छन् ।

नेपालमा दैनिक एक लाख ५० हजार थान ग्यास सिलिन्डरको उपभोग हुने गरेको छ, जसमध्ये ८० प्रतिशत घरायसी प्रयोजनका लागि र बाँकी औद्योगिक तथा व्यावसायिक प्रयोजनका लागि हुने गरेको छ । नेपालमा मासिक रूपमा ५० हजार तीन सय मेट्रिक टन ग्यास खपत हुने गरेको र चैत महिनासम्मका लागि ५२ हजार मेट्रिक टन आवश्यक रहेको जानकारी आइओसीलाई जानकारी गराएको निगमले जनाएको छ ।

साथै, ग्यास बिक्रेता महासंघले मंगलबार एक सूचना जारी गर्दै ग्यास अभावका नाममा मूल्य वृद्धि गरेर बिक्री गरिएको जानकारी पाएको तर मूल्य वृद्धि नभएको भन्दै ग्राहकलाई सचेत गराएको छ । त्यस्तै, निगमले पनि मंगलबार नै सूचना प्रकाशित गरेर ग्यासको नियमित आपूर्ति भएको भन्दै अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ ।

सम्बन्धित खबर