
साउदी : गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी २०२६–२०२८ कार्यकालका लागि केन्द्रीय सचिव पदमा राजेन्द्र अर्यालले उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएनएको १२औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन १४ देखि १६ मार्चसम्म काठमाडौंको सोल्टी होटलमा आयोजना हुँदै छ ।
हाल अर्यालले संघको मध्यपूर्व क्षेत्रीय संयोजकको जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।
अर्याल लामो समयदेखि साउदी अरेबियामा व्यवसायिक रूपमा सक्रिय छन् र एनआरएनएमा करिब १५ वर्षदेखि निरन्तर सक्रिय छन् । उनी साधारण सदस्यबाट सुरु गरेर अन्तर्राष्ट्रिय समितिका विभिन्न पद र क्षेत्रीय नेतृत्वसम्म पुगिसकेका छन् ।
अर्यालले आफ्नो चुनावी एजेन्डामा संगठनको नीति तथा योजना निर्माण, विदेशमा रहेका नेपाली श्रमिकको हकहित र राहत कार्य, वैदेशिक रोजगार ऐन २०६४को कार्यान्वयन, एनआरएनएद्वारा सञ्चालित परियोजनामा आप्रवासी लगानी प्रोत्साहन र नेपालमा लगानी, विकास तथा सहयोगका योजना निर्माण लगायतका पहल गर्ने बताएका छन् ।
साथै उनले सम्बन्धित राष्ट्रका दूतावास, सामाजिक संघ–संस्था, अन्तर्राष्ट्रिय समन्वय परिषद् र एनसीसीसँग सहकार्य गरी कार्यदिशा तय गर्ने योजना पनि अघि सारेका छन् ।
एनआरएनएको महाधिवेशन ढिला हुनुको कारण संघभित्रको विवाद, अदालत मुद्दा, एकता प्रक्रिया, मतदान प्रणाली विवाद र राजनीतिक असहमति रहेको उनले बताएका छन् ।