
काठमाडौं : लालीगुराँस एसोसिएसनले लगातार तेस्रो खेलमा बराबरीको नतिजा व्यहोरेपछि जारी राष्ट्रिय लिगमा शीर्ष स्थानको दाबेदारी कमजोर भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको पहिलो खेलमा लालीगुराँस न्युरोड टिम (एनआरटी) क्लबसँग १–१ गोलको बराबरीमा रोकिन पुग्यो ।
लालीगुराँसका आशिष गुरुङ र एनआरटीका कप्तान अञ्जन बिष्टले गोल गरे । यसअघि लालीगुराँसले आठौं खेलमा फ्रेन्ड्ससँग १–१ र नवौं खेलमा संकटा क्लवसँग गोलरहित बराबरीको नतिजा व्यहोरेको थियो ।
दशौं खेलमा पनि लालीगुराँसले जित निकाल्न सकेन । सातौं चरणसम्म लिगमा अग्रता लिएको लालीगुराँसको शीर्ष स्थान होड कमजोर भएको छ । एक खेल कम खेलिसकेको मच्छिन्द्रसँग लालीगुराँस दुई अंकले पछि परिसकेको छ । यद्यपि, एनआरटीविरुद्ध लालीगुराँसले खेलमा पुनरागमन गरेको हो ।
आशिष गुरुङले निर्धारित समयको अन्तिम मिनेटमा गोल गरेपछि लालिगुराँस एसोसिएसनले न्युरोड टिम (एनआरटी) सँग अंक खोस्यो । एन्फा कम्प्लेक्समा नेपाली राष्ट्रिय टोलीका स्टार अञ्जन बिष्टको कप्तानीमा रहेको एनआरटी अन्तिम समयमा समालिन नसक्दा अंक गुमाउन पुगेको हो ।
कप्तान अञ्जनको गोलमा एनआरटीले २६औं मिनेटमा अग्रता लिएको थियो । तर अन्तिम मिनेटमा सम्हालिन नसक्दा एनआरटी अंक बाँड्न बाध्य भयो । जारी लिगमा एनआरटीको चौथो बराबरी हो ।
वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका आशिषले गोल गर्दै लालीगुराँसलाई हारबाट बचाएका हुन् । बराबरीपछि एनआरटीले लिगको दोस्रो स्थानमा उक्लिने अवसर पनि गुमाउन पुग्यो । अहिले एनआरटी सातौं स्थानमै सीमित भएको छ ।
१० खेलबाट एनआरटीले १९ अंक जोडेको छ । समान १० खेलबाट लालीगुराँस २० अंक जोड्दै चौथो स्थानमा उक्लियो । जितले लालीगुराँस कम्तिमा पनि शीर्ष दुईमा पुग्ने थियो । बुधबार नै भएको खेलमा जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लब १–१ को बराबरीमा रोकिए ।
जावलाखेल ९ खेलबाट १० अंक जोड्दै १०औं स्थानमा छ । सातदोबाटोलाई हराए टोलीले दुई स्थान सुधार गर्ने थियो । तर इन्जुरी समयमा जगजित श्रेष्ठले गोल फकार्एपछि जावलाखेलको लक्ष्य पूरा भएन । सातदोबाटो ९ खेलबाट सात अंकसहित १४औं स्थानमा उक्लिएको छ ।