
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम आउन नसकेको स्वीकारेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै निर्वाचनमा आफू र आफ्नो पार्टीले सोचेजस्तो परिणाम प्राप्त गर्न नसकेको स्वीकार गरेका हुन् ।
लोकतन्त्रमा जनताको फैसला नै अन्तिम हुने बताउँदै ओलीले प्राप्त जनमतलाई पूर्ण सम्मानका साथ शिरोधार्य गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि पार्टीको चुनाव चिन्ह सूर्यमा मतदान गर्ने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई उनले विशेष धन्यवाद दिएका छन् ।
उनले सामािजक सञ्जालमा सन्देश लेख्दै मतदातालाई धन्यवाद दिएका छन् र भनेका छन्, ‘लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, शिरोधार्य गर्नु मेरो र पार्टीको कर्तव्य हो ।’
उनले भनेका छन्, ‘यस कठिन घडीमा सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयम्सेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु । तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो ।’
उनले निर्वाचनको परिणाम एमालेका पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर नहुने बताएका छन् । निर्वाचनमा अपेक्षित सफलता नमिले पनि जनताको मतलाई लोकतान्त्रिक अभ्यासको रूपमा लिँदै ओलीले आगामी राजनीतिक यात्रालाई थप सक्रिय बनाउने संकेत गरेका छन् ।
यस्तो छ उनले सामाजिक सञ्जालमा लेखेको स्टाटस :
दिदीबहिनी तथा दाजुभाइहरू,
यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।
यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईँहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईँहरूको साथ नै हाम्रो ताकत हो।
निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवा भाव कत्ति पनि कमजोर भएको छैन।
हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ।
मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद।