
काठमाडौँ : निर्वाचन आयोग नेपालले धनुषा-१ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा मातृका यादव विजयी भएको औपचारिक घोषणा गरेको छ ।
उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भइसकेपछि पनि उनको पक्षमा उल्लेख्य मत परेपछि विवाद उत्पन्न भएको थियो। त्यसपछि आयोगले मतपरिणामको अवस्थालाई आधार मान्दै दोस्रो स्थानमा रहेका यादवलाई निर्वाचित भएको घोषणा गरेको जनाएको छ ।
यसअघि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिसकेको थियो । प्रारम्भिक चरणमा प्रमाणपत्र उपलब्ध नगरिएको विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी ले विरोध जनाएको थियो ।
आयोगका अनुसार उम्मेदवारी रद्द भइसकेकाले किशोरी साह कमलको मत परिणाम आयोगको आधिकारिक वेबसाइटमा अद्यावधिक गरिएको छैन। उक्त मत समावेश नगरिँदा मतगणनाको आधारमा यादव पहिलो स्थानमा देखिएकाले उनलाई निर्वाचित घोषित गरिएको हो ।
यसअघि कालोसूचीमा परेको तथ्य सार्वजनिक भएपछि आयोगले साहको उम्मेदवारी खारेज गरेको थियो। त्यस निर्णयविरुद्ध उनी अदालत पुगेका छन् र सो विषयमा अदालतले शुक्रबार निर्णय दिने जनाइएको छ ।