
गुल्मीः गुल्मीको रेसुङ्गा विमानस्थलमा मौसमको प्रतिकूलताका कारण उडान अवरुद्ध भएको छ । फागुनको पहिलो सातादेखि सातामा तीन पटक मात्र उडान गर्दै आएको नेपाल वायुसेवा निगमले पछिल्ला केही दिनयता बाक्लो तुवाँलोका कारण नियमित उडान गर्न नसकेको जनाएको छ ।
एक सातादेखि लगातार बाक्लो तुवाँलोका कारण वायुसेवा निगमको गत आइतबार र मङ्गलबारको उडान अवरुद्ध बनेको रेसुङ्गा विमानस्थल गुल्मीका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।
निगमले उडान तालिकामा परिवर्तन गरेसँगै रेसुङ्गा विमानस्थलबाट आइतबार, मङ्गलबार र शनिबार गरी सातामा तीन पटक मात्र उडान हुँदै आएको छ । निगमका हाल तीन वटा मात्र ‘ट्वीनअटर’ जहाज रहेको र उक्त जहाजहरु समय समयमा मर्मत गर्नुपर्ने भएका कारण जहाज अभावमा उडान तालिकामा परिवर्तन गरेको जनाएको छ । हाल काठमाडौंबाट गुल्मीका लागि रु सात हजार ५०० र गुल्मीदेखि काठमाडौंका लागि सात हजार ३०० भाडादर निर्धारण गरिएको छ ।