
काठमाडौं : ग्यासको माग बढ्दै जाँदा आपूर्तिमा दबाब परेको भन्दै नेपाल आयल निगमले शुक्रबारदेखि बजारमा आधा सिलिन्डरका दरले एलपी ग्यास वितरण गर्ने निर्णय गरेको छ ।
निगमको बिहीबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि प्रतिसिलिन्डर ७.१ केजी ग्यास मात्रै बिक्री गर्ने निर्णय गरेको हो । उक्त परिमाणको ग्यासको मूल्य ९ सय ५५ रुपैयाँ तोकिएको निगमले जनाएको छ ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अन्तर्राष्ट्रिय परिस्थितिका कारण ग्यासको माग बढेको र आपूर्तिमा दबाब देखिएकाले धेरै उपभोक्तासम्म ग्यास पुर्याउन यस्तो व्यवस्था लागू गरिएको हो ।
उनले आधा सिलिन्डर वितरण गर्दा पहिले १ हजार उपभोक्ताले पाउने ग्यास अब २ हजार जनासम्म पुग्ने दाबी गरे । उनका अनुसार यसले बजारमा अनावश्यक रूपमा ग्यास थुपारेर राख्ने प्रवृत्तिलाई पनि नियन्त्रण गर्ने अपेक्षा गरिएको छ ।
“आधा सिलिन्डर कसैले पनि स्टक गरेर राख्दैन, जसलाई साँच्चिकै आवश्यकता छ उसैले मात्रै किन्ने सम्भावना बढी हुन्छ,” भट्टले बताए ।
बिहीबारदेखि नै काठमाडौंको बालाजु औद्योगिक क्षेत्रलगायत ग्यास उद्योगहरूमा ग्यास लिन जाने उपभोक्ताको लामो लाइन देखिन थालेको छ । निगमले भने बजारमा ग्यास अभाव नरहेको दाबी गर्दै आएको छ ।
यद्यपि पछिल्ला दुई–तीन महिनादेखि काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा ग्यासको माग असामान्य रूपमा बढेको र उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्ने प्रवृत्ति बढेकाले समस्या देखिएको निगमको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि पछिल्ला दिनमा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुने संकेत देखिएको छ । अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा हमला बढाएपछि तेल ढुवानीको मुख्य मार्ग मानिने होर्मुज जलडमरु क्षेत्रमा अवरोध देखिएको खबर बाहिरिएका छन् ।
इरानका तेल प्रशोधन क्षेत्रहरूमा पनि हमला भएको समाचार आएपछि विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ । यसको असर ग्यास, पेट्रोल र डिजेलको माग तथा खपतमा समेत परेको विश्लेषण गरिएको छ ।