काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले १ सय १० औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गरेका छन् । स्वीट्जरल्याण्डको जेनेभामा जारी सम्मेलनमा मन्त्री श्रेष्ठले मंगलबार भर्चुअल सम्बोधन गरेका हुन् । मन्त्री श्रेष्ठले सबै प्रकारका बालश्रम, बाध्यात्मक श्रम, मानव बेचविखन तथा आधुनिक दासत्व पूर्णरुपमा उन्मुलन गर्ने नेपालको प्रतिवद्धता व्यक्त गरेकोे मन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।
मन्त्री श्रेष्ठले सबै प्रकारका बालश्रम सन् २०२५ सम्ममा उन्मुलन गर्ने लक्ष्यका साथ नेपाल सरकारले काम गरिरहेको उल्लेख गरे । आप्रवासन सम्बन्धी विश्वव्यापी समझदारीपत्रको भावनाअनुसार नेपालले काम गरिरहेको बताउँदै मन्त्री श्रेष्ठले आप्रवासी कामदारले गन्तव्य तथा सम्बद्ध मुलुकमा मानवअधिकार तथा समानताको सुनिश्चितता हुनुपर्नेमा जोड दिए ।
मन्त्री श्रेष्ठले नेपालले कोभिडविरुद्धको खोप अभियानलाई सफलतापुर्वक अघि बढाइरहेको बताउँदै महामारीका कारण परेको असर कम हुँदै जाँदा नेपालको अर्थव्यवस्था विस्तारै सुधार हुँदै जाने क्रममा रहेको, तर उपभोग्य वस्तुहरुको मुल्य बढेकोले श्रमिकको जीवनस्तर तथा उद्योगहरुमा समेत यसबाट असर पुगेको बताए ।
उनले नेपालले रोजगारी, सामाजिक सुरक्षा तथा औधोगिक सुरक्षाको बारेमा गरिरहेको प्रयासबारे सम्मेलनलाई जानकारी गराए । नेपालले सन् २०१८ मा योगदानमा आधारित सामाजिक सुरक्षा योजना अगाडी बढाएको बताउँदै उनले श्रमिक तथा उनीहरुको परिवारको कामसँग सम्बन्धित जोखिम न्यूनिकरण सम्बन्धमा सामाजिक सुरक्षा योजना महत्वपूर्ण कदम रहेको बताए । सिमान्तकृत तथा बेरोजगार नागरिकहरुलाई केन्द्रमा राखी शुरु गरिएको सय दिन रोजगार दिने प्रधानमन्त्री रोजगार कार्यक्रमले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र महामारीमा रोजगारी गुमाएकाहरुलाई पनि केही मात्रामा सहयोग पु¥याएको बताउँदै मन्त्री श्रेष्ठले व्यावसायिक सीप विकास तालिम नीति तथा संरचनाहरु निर्माण गरी रोजगारका अवसरहरु उपलव्ध गराउन लागिपरेको उल्लेख गरे ।
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा आइएलओका सदस्य रहेका विभिन्न देशका सरकार तथा राज्य प्रमुख, श्रममन्त्री, उद्यमी तथा औद्योगिक क्षेत्रका अगुवा तथा श्रमिक नेताहरुले सम्बोधन गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies