
काठमाडौँ : प्रतिकूल मौसमका कारण केही समयदेखि स्थगित भएको पोखरा-जोमसोम हवाई सेवा पुनः सञ्चालनमा आएको छ । जाडो याममा हुस्सु र हिमपात बढ्नुका साथै यात्रुको चाप पनि कम हुने भएकाले मङ्सिर १५ गतेदेखि तीन महिनाका लागि उडान रोकिएको थियो ।
मौसम क्रमशः अनुकूल हुँदै जाँदा र पर्यटकको गतिविधि बढ्न थालेपछि हवाई सेवा पुनः सञ्चालन गरिएको सम्बन्धित निकायले जनाएको छ ।
शनिबार समिट एयरलाइन्सको ट्विनअटर विमानले काठमाडौँबाट दुई उडान र पोखराबाट एक उडान गरेको जोमसोम विमानस्थलले जानकारी दिएको छ । उक्त उडानमार्फत काठमाडौँबाट २९ जना पर्यटक मुस्ताङ पुगेका थिए, जसमा २८ जना विदेशी र एक जना नेपाली रहेको बताइएको छ।
त्यसैगरी पोखराबाट भएको उडानमा १५ जना पर्यटक सवार थिए, जसमा छ जना भारतीय नागरिक रहेका थिए ।
एयरलाइन्सका अनुसार पर्यटक आगमन बढ्न थालेकाले हवाई मार्ग प्रयोग गर्ने यात्रुको सङ्ख्या पनि वृद्धि भइरहेको छ । मौसम अनुकूल रहेसम्म पोखरा–जोमसोम उडान नियमित रूपमा सञ्चालन हुने जानकारी दिइएको छ ।
हवाई सेवा अवरुद्ध भएका अवधिमा भने पर्यटक तथा यात्रुहरू बेनी-जोमसोम सडक मार्ग प्रयोग गरी मुस्ताङ जाने गरेका थिए । मुस्ताङ क्षेत्रमा निजी क्षेत्रका वायुसेवा कम्पनी तारा एयर र समिट एयरलाइन्सले नियमित उडान सञ्चालन गर्दै आएका छन् ।