
काठमाडौँ : नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको नतिजा ल्याउन नसकेको भन्दै पराजयका कारणसहितको विस्तृत समीक्षा प्रतिवेदन माग गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयले सबै प्रदेशका प्रदेश कार्यसमितिका सभापति, जिल्ला सभापति र उम्मेदवारहरूहरुलाई परिपत्र गर्दै फागुन २१ गतेको निर्वाचनपछि प्राप्त निर्वाचन परिणामको समीक्षा, पराजयका कारणहरू, अनुभव, सुझाव तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयहरू समेटी विस्तृत समीक्षा प्रतिवेदन तयार पारी पठाउन निर्देश दिएको हो।
महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा फागुन २१ गते सम्पन्न निर्वाचनमा परिणाम निराशाजनक आएको उल्लेख गर्दै आत्मसमीक्षाको विषय बनाउन आग्रह गरिएको छ ।
अनुशासन समितिको विवरण र निर्वाचन समीक्षा प्रतिवेदन चैत ३ गतेभित्र केन्द्रीय कार्यालयमा पठाइसक्न भनिएको छ ।
पार्टी सदस्यहरूको व्यापक सहयोग, साथ र समर्पण हुँदाहुँदै पनि निर्वाचन परिणाम पार्टीले अपेक्षा गरे अनुसार आउन नसकेको यथार्थ सबैका लागि आत्म समीक्षाको विषय बनेको कांग्रेसले जनाएको छ ।
साथै नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (३) बमोजिम जिल्ला अनुशासन समिति तथा सोही धाराको उपधारा (५) बमोजिम प्रदेश अनुशासन समिति गठन भएका जिल्लाहरूले अनुशासन समितिको संयोजक र सदस्यहरूको नाम, सम्पर्क नम्बर यथाशीघ्र पार्टी केन्द्रीय कार्यालयमा पठाउनु अनुरोध गरेको छ ।
यदि उक्त समितिहरू गठन भई नसकेको भए सम्बन्धित जिल्ला तथा प्रदेश कार्यसमितिले अनुशासन समिति गठन गरी संयोजक तथा सदस्यहरूको नाम र सम्पर्क मोबाइल नम्बर सहितको विवरण आधिकारिक रूपमा केन्द्रीय कार्यालयमा पठाउन भनेको छ ।