२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

shivam cement
२०८२ चैत १ गते १३:२७
Shares
धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

काभ्रेपलाञ्चोक : अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधनलाई रोक लगाई पक्की बनाउन थालिएको छ । उक्त सडकखण्डको स्तरोन्नतिका लागि यही चैत पहिलो सातादेखि दुई हप्ता बन्द गरी कामलाई तीव्रता दिने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको हो । 

लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको सडक विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि स्तरोन्नतिलाई तीव्रता दिइएको डिभिजन सडक कार्यालयले जनाएको छ । उक्त खण्डमा पक्की बनाउन यही चैत ७ गतेदेखि २० गतेसम्म रातिको समयमा यातायातका साधन बन्द गरिएको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुनम योगेशले जानकारी दिए । 

उक्त अवधिभर टिपरसहित मालवाहक सवारीसाधनलाई पूर्णतः रोक लगाइएको उनले बताए। उनका अनुसार चार किलोमिटर दूरीको उक्त सडकखण्डमध्ये चैत महिनामा दुई दशमलव पाँच किमी र आगामी वैशाखमा बाँकी पक्की गरिसक्ने लक्ष्य लिइएको छ ।

उक्त सडकखण्डमा हाल ‘सिसीटिभी’ हाल्ने तयारी गरिएको सिनियर डिभिजनल इञ्जिनियर योगेशले बताए। “त्यसपछि लक्ष्यअनुसार पक्की बनाउँदै लगिनेछ”, उनले भने। लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको स्तरोन्नतिका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरेपछि विभिन्न स्थानमा कटिङको काम सुरु भइसकेको उनले जानकारी दिए। 

कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सिएन एवान काली जेभीसँग भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको हो । हाल साना संरचना तथा टेवा पर्खाल निर्माण भइरहेको जनाइएको छ । चिसो मौसमका कारण सडकमा सतह (सर्फेस्)को काम नभएको भन्दै चिसो कम हुँदै गएपछि पक्की बनाइने योगेशले बताए । उक्त सडकखण्डमा कालोपत्रको काम सकिएपछि सडकको स्लोप मेन्टेन र अन्य बाँकी काम गरिने उनको भनाइ छ । 

सात मिटर चौडाइको बन्ने उक्त सडकका विभिन्न खण्डमा रहेका पहिरो व्यवस्थापन गर्न नयाँ प्रविधिको प्रयोग गरिने सिनियर डिभिजनल इञ्जिनियर योगेशले जानकारी दिए । यसैबीच निर्माणमा ढिलासुस्ती हुँदा तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बन्दै आएको स्थानीय बताउँछन् । कार्यालयले पुरानो ठेक्का रद्द गरेको पाँच महिनापछि गत साउनमा पुनः बोलपत्र आह्वान गरेको थियो ।

उक्त सडक नयाँ निर्माण कम्पनीले समयमा सक्नेमा आशावादी भएको योगेशले बताए। जिल्ला सदरमुकाम धुलिखेल-खावासम्मको उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले गौरी-पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले विसं २०८१ फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको गौरी-पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको थियो । 

अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकको रूपमासमेत रहेको उक्त राजमार्ग समयमा नबन्दा यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य हुँदै आएका छन् ।

उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन नेपालमा पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने कार्यालयले योजना बनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर