२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

‘महिला खेलकुदको विकासमा नीति सुधार र अवसर विस्तार आवश्यक’

shivam cement
२०८२ चैत १ गते २०:३३
Shares
‘महिला खेलकुदको विकासमा नीति सुधार र अवसर विस्तार आवश्यक’

काठमाडौं : अल नेपाल स्पोर्ट्स फाउन्डेसन (एएनएसएफ) ले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर ‘वुमन इन स्पोर्ट्स कन्क्लेभ–२०२६’ आयोजना गरेको छ । राजधानीमा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलकुद निकाय, ओलम्पिक नेतृत्व तथा खेल विज्ञहरूको सहभागितामा नेपाली खेलकुदमा महिलाको उपलब्धि, चुनौती र सम्भावनाबारे व्यापक छलफल गरिएको थियो ।

कार्यक्रममा खेल क्षेत्रमा महिलाले भोगिरहेका अवरोध हटाउने, नेतृत्व विकास गर्ने, खेलमार्फत आर्थिक सशक्तीकरण बढाउने तथा समावेशी खेल वातावरण निर्माण गर्ने विषयमा विचार–विमर्श भएको थियो ।

बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले महिला खेलाडीहरूको प्रतिभालाई राज्यले प्राथमिकता दिँदै आवश्यक नीति तथा कार्यक्रम अघि बढाइने बताइन् । उनले महिला खेलकुद प्रवर्धनका लागि आगामी दिनमा एएनएसएफसँग सहकार्य गरिने प्रतिबद्धता जनाइन् ।

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले महिला नेतृत्व, आर्थिक सशक्तीकरण र खेलकुदबीचको सम्बन्धबारे चर्चा गर्दै खेलकुद पर्यटनको विकासमा निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताइन् ।

राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य सुवर्ण श्रेष्ठले राष्ट्रिय खेलकुदको समग्र विकासका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले एकताको सन्देश प्रवाह गर्ने बताए ।

निर्मला फाउन्डेसनकी अध्यक्ष निर्मला भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूका लागि अनुकूलित खेलकुदको महत्वबारे प्रकाश पार्दै समावेशी खेल संरचना विकास गर्नुपर्नेमा जोड दिइन् । मोटरस्पोर्ट्स खेलाडी प्रज्ञा कँडेलले आफ्नो खेल यात्राका अनुभव सुनाउँदै निरन्तर मेहनत र आत्मविश्वासका साथ अघि बढेमा महिलाले अन्तर्राष्ट्रिय स्तरमा समेत सफलता हासिल गर्न सक्ने बताइन् ।

कार्यक्रमको मुख्य आकर्षण ‘बाधा हटाउँदै : खेलाडी यात्रा र लचिलोपन’ शीर्षकको प्यानल छलफल थियो । पहिलो सत्रमा राष्ट्रिय टोलीका महिला खेलाडीहरू दीपाशाही (फुटबल), पूजा महतो (क्रिकेट), सुमित्रा रेग्मी (भलिबल), ओलम्पियन सन्तोषी श्रेष्ठ (एथलेटिक्स) र कराते खेलाडी आरिका गुरुङले आफ्नो खेल यात्रा, चुनौती र सफलताका अनुभव साझा गरेका थिए । उनीहरूले सामाजिक धारणा, पारिवारिक दबाब र खेल पूर्वाधारको अभावजस्ता चुनौतीका बाबजुद निरन्तर अभ्यास र आत्मविश्वासले सफलता सम्भव हुने बताए ।

दोस्रो सत्रमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख सन्तोष बुढाथोकी, तारकेश्वर नगरपालिका उपप्रमुख सिर्जना बर्लाकोटी, खेल विज्ञ सुलोचना सिजाख्वा र खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले महिला खेलकुदको विकास, नीति सुधार, प्रशिक्षण अवसर तथा पूर्वाधार विस्तारका विषयमा धारणा राखेका थिए ।

अध्यक्ष श्रेष्ठले खेलकुद नीतिमा समयानुकूल सुधार गर्दै महिला खेलाडीलाई थप अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिए । उनले महिला खेलकुद प्रवद्र्धनका लागि एएनएसएफले थालेको पहल सराहनीय रहेको उल्लेख गर्दै आगामी दिनमा नेपाल ओलम्पिक कमिटीसँग सहकार्य विस्तार हुने बताए ।

जिल्ला समन्वय समिति प्रमुख बुढाथोकीले स्थानीय तहबाटै खेलाडीलाई अवसर र प्लेटफर्म उपलब्ध गराउनुपर्नेमा जोड दिए । उनले स्थानीय, प्रदेश र संघीय सरकार, राष्ट्रिय खेलकुद परिषद् तथा ओलम्पिक कमिटीबीच समन्वय आवश्यक रहेको बताए ।

तारकेश्वर नगरपालिका उपप्रमुख बर्लाकोटीले नेपाली खेलकुद क्षेत्रमा महिलाले अझै विभिन्न चुनौती सामना गरिरहेकाले महिला खेलाडी सशक्तीकरणका लागि स्थानीय सरकारबाट आवश्यक पहल गरिने बताइन् । खेल विज्ञ सुलोचना सिजाख्वाले धेरै महिला खेलाडीले परिवार र खेलकुद करियरबीच सन्तुलन कायम गर्न संघर्ष गर्नुपर्ने अवस्था रहेको औंल्याइन् ।

कार्यक्रममा एएनएसएफका कार्यकारी निर्देशक सञ्जय अधिकारीले स्वागत मन्तव्य राख्दै नेपालमा महिला खेलकुदलाई अझ व्यवस्थित र अवसरमूलक बनाउने उद्देश्यका साथ फाउन्डेसनले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

यसैबीच फाउन्डेसनले आगामी जेठ महिनामा ‘छायानाथ अल्ट्रा म्याराथन’ आयोजना गर्ने घोषणा पनि गरेको छ । आयोजकका अनुसार उक्त प्रतियोगिता विशेषगरी महिला धाविकाका लागि महत्वपूर्ण प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ, जसले दुर्गम क्षेत्रका महिलालाई एन्डुरेन्स तथा ट्रेल खेलकुदमा सहभागी हुने अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।

उपलब्ध तथ्यांकअनुसार नेपालमा संगठित खेलकुदमा केटीहरूको सहभागिता करिब ८ प्रतिशत मात्र रहेको छ भने केटाहरूको सहभागिता करिब २८ प्रतिशत पुगेको छ । यही असन्तुलन घटाउँदै महिला खेलकुदको आवाज बलियो बनाउने उद्देश्यले कन्क्लेभ आयोजना गरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित खबर