२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

कतारबाट साउदी हुँदै नेपाल जान खर्चिलो भएपनि श्रमिक इच्छुक देखिए : का.वा. राजदूत राई

shivam cement
तिलु शर्मा पौडेल
२०८२ चैत १ गते २२:२०
Shares
कतारबाट साउदी हुँदै नेपाल जान खर्चिलो भएपनि श्रमिक इच्छुक देखिए : का.वा. राजदूत राई

दोहा, कतार : कतारबाट नेपाल फर्किन चाहने नेपालीका लागि साउदी अरब हुँदै यात्रा गर्न सकिने विकल्पबारे नेपाली राजदूतावास कतारले जारी गरेको सूचनापछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । दूतावासले शनिबार सूचना जारी गर्दै साउदीको भिसा लिएर नेपाल जान सकिने जानकारी दिएको थियो । तर सूचनामा सार्वजनिक गरिएको फोन नम्बरमा सम्पर्क हुन नसक्नुका साथै दूतावासका सामाजिक सञ्जाल एपहरू सक्रिय नभएको पाइएपछि श्रमिक र सर्वसाधारणले चर्को असन्तुष्टि जनाएका हुन् ।

यो विषयमा मध्यान्ह दैनिकले समाचार प्रकाशित गरेपछि थप जिज्ञासा र प्रश्न उठे । ती प्रश्नहरूको जवाफ खोज्न मध्यान्हकर्मी आइतबार नेपाली राजदूतावास पुगेका थिए । त्यहाँ कतारका लागि नेपाली कार्यवाहक राजदूत कुमार राई तथा दूतावासका जनसम्पर्क अधिकृत (पिआरो) ताजसँग साउदी भिसा प्रक्रियाबारे सामाजिक सञ्जालमा उठेका विभिन्न प्रश्नहरू राखिएको थियो ।

कार्यवाहक राजदूत राईका अनुसार हाल कतारबाट नेपालका लागि सिधा उडान नियमित रूपमा सञ्चालन हुन सकेको छैन । यस्तो अवस्थामा साउदी अरबबाट नेपालका लागि उडान भइरहेकाले त्यही मार्ग प्रयोग गरेर नेपाल फर्कन सकिने विकल्पबारे सूचना जारी गरिएको उनले बताए । उनले धेरै नेपालीले साउदीको भिसा लिन लामो समय लाग्ने समस्या रहेको भन्दै नेपाली नियोगसँग सहजीकरणका लागि अनुरोध गरेपछि दूतावासले वैकल्पिक मार्गबारे जानकारी गराएको बताए ।

राईका अनुसार दूतावासले आफ्नो जनसम्पर्क अधिकृतमार्फत कतारस्थित साउदी दूतावाससँग सम्पर्क गरी विषम परिस्थितिलाई ध्यानमा राख्दै छोटो समयमा भिसा जारी गर्न आग्रह गरेको थियो । त्यसपछि साउदी दूतावासकै सुझावअनुसार तासिर भिसा सेन्टरमार्फत भिसा आवेदन दिन सकिने जानकारी श्रमिकहरूलाई सूचनामार्फत उपलब्ध गराइएको उनले बताए ।

तर साउदी हुँदै जाँदा यात्रुहरूलाई थप आर्थिक भार पर्ने तथा सूचनामा दिइएको फोन नम्बरमा पनि सम्पर्क नहुने विषयमा उठेको प्रश्नमा राईले उक्त नम्बर भिसा सेन्टरको वेबसाइटबाट लिइएको बताए । भिसा सेन्टरले फोन नलाग्ने नम्बर किन राख्यो भन्ने विषय आफूले पनि नबुझेको उनले बताए । साथै फोनमार्फत अपोइन्टमेन्ट लिन नसकिने स्पष्ट पार्दै उनले प्रक्रियामा कतै–कतै दूतावासको कमजोरी देखिएको स्वीकार गरे र त्यसलाई सुधार गरिने बताए । दूतावासको कमजोरीप्रति मध्यान्हको खबरदारीलाई सकारात्मक लिँदै दूतावासले सूचना सच्चाउँदै नयाँ सूचना पुन: प्रकाशन गरेको छ ।

उनका अनुसार दूतावासले साउदी हुँदै नेपाल जान चाहने श्रमिकहरूको चाहना र दूतावासमा प्राप्त अनुरोधका आधारमा मात्र सहजीकरण गरेको हो । साउदी भिसाका लागि एपोइन्टमेन्ट भने कतारस्थित साउदी भिसा सेन्टरको वेबसाइट भिसी डट तसिर डट कममार्फत मात्रै लिन सकिने उनले स्पष्ट पारे । साथै दूतावासले सहजीकरण मात्रै गरेको भन्दै भिसा शुल्क, कतारदेखि साउदीसम्मको यात्रा खर्च, साउदीबाट नेपाल जाने हवाई टिकट र त्यहाँ बस्नुपरेमा लाग्ने खर्च सम्बन्धित व्यक्तिले नै व्यहोर्नुपर्ने उनले बताए । त्यसैले यस्तो मार्ग प्रयोग गर्दा खर्च बढी पर्न सक्ने उनले स्वीकार गरे ।

कतारका आधिकारिक निकायसँग समन्वय गरेर विशेष उडानको पहल किन नगरेको भन्ने प्रश्नमा राईले नेपाली नियोगले सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको बताए । उनले नियोगकै आग्रहमा कतार एयरवेजले मार्च १६ र १७ तारिख विशेष उडान सञ्चालन गर्न लागेको जानकारी दिए । उनका अनुसार कतारबाट नेपाल जाने यात्रु भए पनि नेपालबाट कतार फर्कने यात्रु कम भएकाले नियमित उडान सञ्चालन हुन कठिन भएको अवस्था रहेको छ ।

राईले हाल विशेष परिस्थिति भएकाले अत्यावश्यक नपरेसम्म यात्रा नगर्न पनि नेपालीहरूलाई आग्रह गरे । उनका अनुसार असहज परिस्थितिमा परेका १८ जना नेपालीलाई दूतावासले कतार एयरवेजसँग समन्वय गरेर नेपाल पठाइसकेको छ । दूतावासको अभिलेखअनुसार तीमध्ये अधिकांश नेपालमा काजकिरिया गर्न जानुपर्ने कारणले फर्किएका थिए ।

राईले निकट भविष्यमा कतार एयरवेजले नियमित उडान पुनः सञ्चालन गर्ने विश्वास व्यक्त गरे । उनले कतारमा नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सका कर्मचारीहरू रोकिएको अवस्थामा दूतावासले समन्वय गरेर नेपाल पठाएको स्मरण गरे । साथै बाहिरबाट आएका ठूला पानीजहाजमा काम गर्ने नेपालीदेखि ट्रान्जिटमा रहेका नेपालीहरूसम्मलाई दूतावासले आवश्यक सहयोग र समन्वय उपलब्ध गराएको उनले बताए ।

सबै गतिविधि सार्वजनिक रूपमा मिडियामा आउन नसक्ने उल्लेख गर्दै उनले कूटनीतिक कारणले सबै विवरण सार्वजनिक गर्न नमिल्ने बताए । त्यसका बावजुद दूतावास श्रमिकहरूको सहयोगका लागि सदैव तयार रहेको उनले बताए ।

यसैबीच दूतावासका जनसम्पर्क अधिकृत ताजका अनुसार मार्च १६ र १७ मा कतारबाट नेपाल जाने विशेष उडानमार्फत करिब पाँचवटा शव पनि नेपाल पठाउने तयारी गरिएको छ । सडक दुर्घटना तथा हृदयाघातका कारण मृत्यु भएका नेपालीहरूको शव पठाउन दूतावासले आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) जारी गरिसकेको उनले जानकारी दिए ।

कतारबाट सिधा उडान उपलब्ध नभएको तथा टिकट नपाएको अवस्थामा साउदी भिसा लिएर नेपाल जानका लागि तासिर भिसा सेन्टरबाट एपोइन्टमेन्ट लिनका लागि प्रक्रिया रहेको छ । उक्त प्रक्रियाअनुसार गुगलमा भिसी डट तासिर डट कम वेबसाइट खोलेर ‘कतार–इङ्लिस’ विकल्पमा क्लिक गर्नुपर्छ । त्यसपछि ‘सेड्युल एन एप्वइन्टमेन्ट’ मा गएर आवश्यक विवरण भर्नुपर्ने हुन्छ ।

आवेदन गर्दा राष्ट्रियता ‘नेपाली’, भिसा प्रकार ‘टुरिजम’, प्रवेश संख्या ‘सिंगल’ र भिसा अवधि ‘९० दिन’ चयन गर्नुपर्छ । त्यसपछि ‘कन्सेन्ट’ मा टिक लगाएर ‘कन्टिन्यु’ मा क्लिक गर्नुपर्छ । त्यसपछि आउने ‘ट्रम्स एन्ड कन्डिसन्स’ स्वीकार गरी प्रक्रिया अगाडि बढाउन सकिन्छ ।

त्यसपछि आफ्नो वैध इमेल ठेगाना र पासपोर्ट नम्बर राखेर ‘कन्टिन्यु’ गर्दा इमेलमा आउने ओटिपी प्रविष्ट गरी प्रमाणित गर्नुपर्छ । त्यसपछि आवेदनकर्ताले भरेका विवरण पुनः देखिने भएकाले रुजु गरेर व्यक्तिगत भए ‘इन्डिभिजुअल’ वा परिवारसहित जाने भए ‘फेमिली’ चयन गर्न सकिन्छ ।

यसपछि व्यक्तिगत विवरण भरेपछि शुल्क र एपोइन्टमेन्ट मिति देखिन्छ । ‘नर्मल’ विकल्प चयन गर्दा ४८० रियाल शुल्क लाग्ने देखिन्छ । त्यसपछि उपलब्ध समयमध्ये बिहान ९ः४५ बजेदेखि दिउँसो साढे ३ बजेसम्मको समय रोजेर ‘कन्फर्म एन्ड बुक’ मा क्लिक गर्दा इमेलमा एपोइन्टमेन्ट लेटर प्राप्त हुन्छ ।

उक्त लेटर डाउनलोड गरी प्रिन्ट गरेर तोकिएको समयमा दोहाको घराफा क्षेत्रमा रहेको इजदान मलभित्रको तासिर भिसा सेन्टरमा वैध कतारी परिचयपत्रसहित उपस्थित हुनुपर्ने हुन्छ । बाँकी प्रक्रिया भने त्यहीँबाट पूरा गरिने जनाइएको छ ।

सम्बन्धित खबर